
विराटनगर १७ असार । विराटनगर महानगरपालिका वडा नंं ८ ले जेष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य अवस्था बुझ्दै आएको छ ।
वडा कार्यालयले गत वर्षदेखि जेष्ठ नागरिकसँग जनप्रतिनिधि कार्यक्रम शुरु गरेको हो । जेष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिने, स्वास्थ्य परीक्षण गर्ने, सरकारले निशुल्क उपलब्ध गराएका औषधीहरुबारे जानकारी दिने र जेष्ठ नागरिकको अवस्थाहेरि स्वास्थ्य सामग्रीहरु पनि वितरण गर्ने कार्य वडा कार्यालयले गर्दै आएको छ । गत वर्षदेखि शूरु भएको कार्यक्रम प्रभावकारी भएपछि यस वर्षपनि कार्यक्रमलाई निरन्तरता दिईएको छ ।
यस वर्षको अभियान अन्र्तगतको पहिलो दिन १०३ वर्षीया देवी पाण्डेको घरमै पुगेर विराटनगर महानगरपालिका उपप्रमुख शिल्पा निराला कार्की सहित विराटनगर ८ का सवै जनप्रतिनिधिहरु, स्वास्थ्यका कर्मचारीले स्वास्थ्य अवस्था बुझेका छन् । उपप्रमुख कार्की, वडाध्यक्ष पोखरेल सहितको टोलीले जेष्ठ नागरिक पाण्डेको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको थियो । जेष्ठ नागरिक पाण्डेको उच्चरक्तचाप, मधुमेहको परिक्षण गरिनुका साथै एक थान पंखा वितरण गरिएको वडाअध्यक्ष राम पोखरेलले बताउनुभयो ।
वडा कार्यालयले वडाका जेष्ठ नागरिकको लगत संकलन गरि कार्यक्रम सञ्चालन गरेको हो । गत वर्ष १२२ जना जेष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य परिक्षण गरिनुका साथै आवस्यक स्वास्थ्य सामग्री वितरण गरिएको थियो । पोखरेलले भन्नुभयो,‘ यस वर्ष पनि जेष्ठ नागरिकको लगत संकलन गरिएका घर–घरमा पुगिने छ ।’ जेष्ठ नागरिकसँग जनप्रतिनिधि कार्यक्रमले वडावासीको घरमै पुगेर वडाले प्रवाहगरेको सेवावारे जानकारी दिने, वडावासीका गुनासो, सुझावहरु लिने काम हुने गरेको पोखरेलले बताउनुभयो ।
जेष्ठ नागरिकको घरमै पुगेका समयमा वडा कार्यालयले हरेक सोमबार आयोजना गर्ने निशुल्क आँखा शिविरका बारेमा पनि जानकारी दिईने गरेको वडा सदस्य पवित्रा विश्वकर्माले जानकारी दिनुभयो ।
विराटनगर महानगरपालिका वडा नं. ८ ले भौतिक पूर्वाधारको विकाससँगै वडाबासीको स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गर्दै आएको वडा सदस्य भुवन राजवंशीले बताउनुभयो । उहाँले वडामा नियमित स्वास्थ्य शिविर, जेष्ठ नागरिक दन्त उपहार कार्यक्रम प्रभावकारी भएको बताउनुभयो ।
कार्यक्रममा कार्यपालिका सदस्य ताराकुमारी राय, वडासदस्य मो.अब्बास, वडा सचिव मनोज मल्लिक, स्वास्थ्य शाखा प्रमुख अञ्जु श्रेष्ठ, महिला स्वयेंविकाहरु, समाजसेवी राजन भण्डारी, शोभा निरौला, देवी निरौला लगायतको सहभागीता रहेको थियो ।