विराटनगर, २ साउन । प्रदेश १ मा पछिल्लो ४ महिनामा एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
गत चैत ७ गतेपछि असार ३२ गते शनिबार एक महिलाको मृत्यु भएको हो । मृत्यु हुने ५७ वर्षीया महिला सुनसरी रामधुनी ७ की हुन । उनको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो । कोभिड १९ विरुद्धको दोश्रो डोज खोप लगाएकी महिला असार ३० गते अस्पताल भर्ना भएकी प्रतिष्ठानले जनाएको छ । चार महिनापछि एक संक्रमितको मृत्यु भएसँगै प्रदेश १ मा कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार २६१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा एकसातामै १९९ जना कोरोना संक्रमित थपिएका छन् । गत सोमबारसम्म प्रदेशभर ४ जनामा संक्रमण देखिएकोमा आईतबारसम्म आईपुग्दा संक्रमितको संख्या १९९ पुगेको मन्त्रालयले जनाएको छ ।
आईतबार २६१ जनाको पीसीआर परीक्षण गर्दा ७४ र १७३ जनाको एन्टिजेन परीक्षण गर्दा ७ जनागरि २४ घण्टामा ८१ जना संक्रमित थपिएको मन्त्रालयद्धारा जारी दैनिक संक्रमित विवरणमा उल्लेख छ । शनिबार १७ जनाको परीक्षण गर्दा ४ र २३२ जनाको एन्टिजेन परीक्षण गर्दा ५ जना, शुक्रबार ३५ जनाको पीसीआर परीक्षण गर्दा १७ र २३७ जनाको एन्टिजेन परीक्षण गर्दा २९, विहीबार ५६ जनाको पीसीआर परीक्षण गर्दा १७ र २३६ जनाको एन्टिजेन परीक्षण गर्दा १३ जनामा संक्रमण देखिएको थियो ।
बुधबार ३४ जनाको पीसीआर परीक्षण गर्दा १२ र १९५ जनाको एन्टिजेन परीक्षण गर्दा ६, मंगलबार १६ जनाको पीसीआर परीक्षण गर्दा ६ र २०७ जनाको एन्टिजेन परीक्षण गर्दा ५ र सोमबार १२ जनाको पीसीआर परीक्षण गर्दा १ जना र १०३ जनाको एन्टिजेन परीक्षणगर्दा ३ जनामा संक्रमण देखिएको प्रदेश १ स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या १३५ रहेको छ । संक्रमित भएकामध्ये १०९ जना होम आईसोलेसनमा रहेका छन् । २६ जना संक्रमितहरु विभिन्न अस्पतालको उपचार केन्द्रहरुमा उपचाररत रहेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।
कोरोना संक्रमितको उपचारकालागि १ हजार ९६ वेडहरु तयारी अवस्थामा रहेको स्वास्थ्य मन्त्रालयकी विशेषज्ञ चिकित्सक डा. संगीता राईले बताईन । उनका अनुसार ३७२ जेनेरल वेड, २०८ आईसीयु, १०७ भेन्टिलेटर, १४९ आईसोलेसन वेड र ३६७ एचडियू वेडहरु रहेका छन् । प्रदेशभर ३१ वटा उपचार केन्द्र तथा अस्पतालहरु रहेको डा. राईले जानकारी दिईन ।
कोरोना संक्रमण बढ्न थालेपछि नियन्त्रणका लागि मोरङ प्रशासनले सक्रियता बढाइएको छ । सबै क्षेत्रलाई मास्क अनिवार्य गराउँदै सम्बन्धित स्थानीय तहमार्फत कोरोनाको परीक्षणसमेत तीव्र पारिने भएको छ ।
मोरङ कारागारमा संक्रमण फैलिएपछि बसेको डिसीसीएमसीको बैठकले कोरोनाको बढ्दो संक्रमण नियन्त्रण गर्नका लागि कैदी बन्दीको कोरोना परीक्षण गर्ने, संक्रमितको उपचार कोशी कोभिड अस्पतालमा गराउने, उपचारमा आवश्यक जनशक्तिको व्यवस्थापन, आमनागरिकमा स्वास्थ्य मापदण्ड पालना र जनचेतनाका लागि सम्बन्धित स्थानीय तहमार्फत माइकिङ गर्ने, सम्भावित जोखिमका बारेमा नागरिकलाई जानकारी दिने तथा सबै क्षेत्रमा मास्क अनिवार्य गराउने लगायतका निर्णय गरेको प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताए ।