मनमोहन प्राविधिक विश्वविद्यालयद्धारा आयुर्बेदिक औषधीहरुको उत्पादन गर्ने तयारी

विराटनगर ९ असार । मनमोहन प्राविधिक विश्वविद्यालयले आयुर्बेदिक औषधीहरुको उत्पादन गर्ने तयारी गरेको छ । नेपाली जडिबुटीको प्रयोग गरि मधुमेह रोगको उपचार गर्ने विशेष अनुसन्धानलाई विशेष महत्व दिईएको विश्वविद्यालयका उपकुलपति डा. सुवासश्री पोखरेलले जानकारी दिनुभयो ।

विश्वविद्यालयमा आज उपकुलपतिसँग पत्रकार कार्यक्रममा उहाँले चालु शैक्षिक शत्रमा विश्वविद्यालयले १० वटा विभिन्न विषयमा अनुसन्धान गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो ,‘ १० वटा अनुसन्धान मध्ये मधुमेह रोगको उपचार गर्ने अनुसन्धान र व्याक्टेरियोफेज सम्वन्धी अनुसन्धानलाई विशेष महत्वका साथ अगाडी बढाईएको छ । ’ आफ्नै प्रयोगशालामा अनुसन्धान गरि आयुर्बेदिक औषधीहरुको उत्पादनको तयारी भईरहेको उपकुलपति पोखरेलले बताउनुभयो ।

तह १ देखि तह ५ सम्मको स्किल टेष्ट पास गरिसकेका विद्यार्थीहरुलाई तह ६ देखि तह ८ सम्मको अध्ययन गराउने योजना अनुशार विश्वविद्यालय अघि बढेको उहाँले बताउनुभयो । विश्वविद्यालयमा स्नातक र स्नातकोत्तर कार्यक्रममा ३२२ विद्यार्थी अध्ययनरत छन् ।

देशकै पहिलो प्राविधिक विश्वविद्यालय भएपनि प्रदेश सरकारबाट अपेक्षित रुपमा बजेट विनियोजन भएन । सरकारको कुल बजेटको ० दशमलव ५ प्रतिशत पनि नहुनु दुःखत ।

विश्वविद्यालयमा स्नातक तर्फ सिभिल इञ्जिनियरिङ, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इञ्जिनियरिङ, फार्मेसी र बीबीए एलएलवी कार्यक्रमहरुको अध्ययन अध्यापन भईरहेको छ । विश्वविद्यालयले आफ्नो १० वर्षे रणनीतिक योजना अनुशार सन् २०३० सम्म १० वटा नयाँ पाठ्यक्रम तयार गर्ने, २ वटा विषयमा विद्यावारिधि गराउने, ५ विषयमा स्नातकोत्तर र ५ वटा विषयमा स्नातक तहको पठनपाठन सञ्चालनको तयारी गरिएको उपकुलपति डा. पोखरेलले बताउनुभयो । उहाँले भन्नुभयो,‘ सन् २०३० सम्ममा विश्वविद्यालयलाई अन्र्तराष्ट्रिय स्तरमै परिचित बनाउने योजना छ ।’

कोशी प्रदेश सरकारले २०७६ सालमा स्थापना गरेको मनमोहन प्राविधिक विश्वविद्यालय देशकै पहिलो प्राविधिक विश्वविद्यालय हो । मोरङको बुढीगंगा स्थित देशकै पहिलो प्राविधिक विश्वविद्यालय भएपनि प्रदेश सरकारबाट अपेक्षित रुपमा बजेट विनियोजन नभएको उपकुलपति पोखरेलले बताउनुभयो ।

आगामी आ.व. का लागि प्रदेश सरकारले १४ करोड मात्रै बजेट विनियोजन गरेकोमा उहाँले गुनासो गर्नुभयो । विश्वविद्यालयलले ३७ करोड माग गरेपनि प्रदेश सरकारको कुल बजेटको ० दशमलव ५ प्रतिशत पनि नहुनु दुःखत भएको उहाँले बताउनुभयो ।