
१८ औँ गणतन्त्र दिवस– जेठ १५ को सन्दर्भमा नेकपा (एमाले), पथरी शनिश्चरे नगरपालिका, मोरङले आयोजना गरेको अग्रजप्रतिको सम्मानमा यो पंक्तिकारलाई पनि सामेल हुने मौका मिल्यो । पछिल्ला दिनहरूमा कार्यक्रमलाई औसत सामान्यभन्दा पनि बढ्ता रचनात्मक ढंगले मनाउने चलन प्रचलन बढेसँगै यो कार्यक्रम पनि त्यसको एउटा निरन्तरता हो । नगरको नेतृत्वमा युवापात्र सञ्जीव गिरी आइसकेपछि यसखालका कार्यक्रमले निरन्तरता पाएको छ, स्पेश लिएको छ । राजनीतिक बैचारिक मुद्दाका हिसावले आज प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा उभिएको समाजवादउन्मुख गणतन्त्र पक्षधर शक्तिलाई निकै खुशी तुल्याएको छ ।
यसबाट आज बजारमा यदाकदा र छिटफुट राजा र राजतन्त्रको पक्षमा आवाज संगठित गर्न खोजिए पनि जन्मजात र वंशानुगत श्रेष्ठताको मान्यता हिजो पनि आफैमा खराब थियो । यो त एउटा सामन्ती र मध्ययुगीन मान्यता थियो र हो । त्यसमाथि, निश्चित वर्ग र वंशमा जन्मेकै कारणले मात्र, बिना कुनै जनअनुमोदन र बिना कुनै सम्परीक्षण अमुक व्यक्ति शासक हुने हक राख्छ र त्यस देशका जनताले उसबाट शासित हुन तयार हुनुपर्छ भन्ने सोच आफैमा अवैज्ञानिक, असान्दर्भिक, अलोकतान्त्रिक र अनुचित सोच थियो र हो भन्ने वस्तुनिष्ठ तर्क र व्यवहारिक मान्यता आदानप्रदान भएको छ, साटासाट भएको छ । जन्मसिद्ध राजकाजको कार्यकारी प्रमुख हुने व्यवस्थाविरुद्ध लडिएको लडाइँको प्रतिफलस्वरुप प्राप्त विद्यमान व्यवस्थामा हिड्दैछ पाइला मेट्दैछ नहोस् ! खोलो तर्ने लौरो बिर्सने रोगले नछोओस् ! कुलिन, सम्भ्रान्त र ठालू नपल्टियोस् आदि शीर्षकोपर शुभभाव आदानप्रदान भएको छ ।
सम्मानको यो संस्कार आरम्भले परस्परमा इज्जत बढाएको छ, मर्यादा बढाएको छ र मूल्यको राजनीतिलाई कदर गर्नुपर्ने व्यवहार विकास गराएको छ । सम्मानको संस्कारले संगठित वा असंगठित प्रत्येक व्यक्तिको सोच, आचरण र व्यवहारमा गहिरो रूपमा प्रभाव पारेको छ ।
पृष्ठभूमि
नगरपालिका कमिटीको ‘अग्रजको खोजि’ कार्यक्रमअन्तर्गत मूलतः २०४६ सालपूर्वका दिनहरूमा राजनीतिक संगठनात्मक क्षेत्रमा भूमिका निर्वाह गर्नुहुने, भूमिगत र निर्वासित जीवन निर्वाह गर्नुहुने, प्रजातन्त्र प्राप्तिको आन्दोलनमा जेलनेल काट्नुहुने, कहरलाग्दा पुलिस यातना र असह्य कष्टडी पार गर्नुहुने, समाज परिवर्तनको अभियानसँगै पौठेजोरी खेल्नुहुने, जस्तोसुकै जोखिम मोलेर भए पनि पार्टी बचाउनुहुने बचाउन तयार हुनुहुने आदरणीय अग्रजलाई पार्टीले आदर र श्रद्धाभावका साथ सम्झिएको छ ।
१० वटा वडा समेटिएको पालिकाको वडा नं. ५ बाट गोपाल गनगाइँ, वडा नं. ३ बाट केशव बराल र ज्ञानेन्द्र अधिकारी, वडा नं. २ बाट इन्द्रप्रसाद भट्टराई र रत्नबहादुर बस्नेत, वडा नं. १० बाट चण्डीप्रसाद राई र वडा नं. १ बाट कैलाशकुमार गुरुङ र वीरध्वज शिवा यसपटकका लागि छनौट हुनुभएको छ । यसक्रममा २०६२–०६३ को जनआन्दोलनसँगै तयार भएको राजनीतिक संगठकले पुरानोपन र पुरानोमनले सम्मोहित पुस्तालाई नजिकैबाट चिनेको छ । कसैको जन्मजात जन्म र वंशकै आधारमा राजा हुने सामन्ती अभिजातिय वर्णप्रधान व्यवस्थाविरुद्ध लडाइँ लड्नुहुने यो पंक्तिलाई स्थानीय पार्टीले सम्झनुले नयाँ–पुरानो मिश्रितपुस्ताले यो पंक्तिलाई गणतन्त्र गौरवको रूपमा आत्मसात गरेको प्रस्ट हुन सक्दछ ।
यसले दिन चाहेको सन्देश
सम्मानित व्यक्ति इन्द्रप्रसाद भट्टराईको भाषामा भन्ने हो भने पार्टी आन्दोलन निर्माण र परिचालन गर्ने संगठन दुख्दा संगठित नेता कार्यकर्ताको शारीरिक संरचना दुख्दथ्यो । एउटा कार्यकर्तालाई दुख्दा अर्कोलाई दुख्दथ्यो । पछिल्लो समयमा आएर कम्युनिष्ट आन्दोलन व्यक्तिकेन्द्रीत भएको छ । परस्पर वर्गीय सुझबुझ, दृष्टिकोण र दृष्टिकोणअनुरुपको व्यवहार टुट्दै गएको छ ।
सम्मानको यो संस्कार आरम्भले परस्परमा इज्जत बढाएको छ, मर्यादा बढाएको छ र मूल्यको राजनीतिलाई कदर गर्नुपर्ने व्यवहार विकास गराएको छ । सम्मानको संस्कारले संगठित वा असंगठित प्रत्येक व्यक्तिको सोच, आचरण र व्यवहारमा गहिरो रूपमा प्रभाव पारेको छ । आन्दोलन एउटा जिवन्त विषय हो । यसले परस्परमा एकले अर्कोलाई सम्मान गर्न सिकाएको छ । विभेदमुक्त समाज निर्माणको अभियानमा सबैलाई जोड्न चाहिने वर्ग चेतनाको मूलप्रवाहमा उभिन सिकाएको छ । हुनेखाने हुन् वा हुँदाखाने ! साना हुन् वा ठूला ! धनी हुन् वा गरिब ! आफन्त हुन् वा अपरिचित ! सबैलाई एक ठाउँमा ल्याएको छ ।
सामान्यतः हाम्रो आफ्नो भाषा र व्यवहारमा हुने मर्यादाबाहिरको जीवनशैलीलाई एक ठाउँमा उभ्याउन सिकाएको छ । मानव मर्यादाका हिसावले समान हामीमा परस्वर नराम्रो बोल्न नहुने, कसैले कसैलाई नहेप्ने, अपमान गर्ने होइन, विनम्र र आदरपूर्वक प्रस्तुत हुने आदि तौरतरिका सिकाएको छ । भाषणमा होइन, काममा अग्रसरता लिने अभ्यास अघि बढाएको छ । मातहतको पंक्तिबाट बुझ्ने र सुन्ने संस्कार विकास गराएको छ । अनुकूल वा प्रतिकूल जस्तोसुकै अवस्थामा पनि अरुहरूको दृष्टिकोण, भावना वा परिश्रमको कदर गर्ने बानीको विकास गराएको छ । एउटा विशिष्ट विशेषताअनुसार बनेको समाजमा परस्पर अक्षुण्य मेलमिलाप र खँदिलो सद्भाव बढाएको छ । सम्मानले वैरभाव र झगडा होइन बरु एकअर्कामा सामिप्यता र समझदारी ल्याएको छ ।
सामाजिक अनुशासनमा आधारित आत्मसम्मान, विवेक र मानवीय मूल्यको आधारमा अरूको अस्तित्वलाई मनदेखि स्वीकार गर्ने बानी विकास गराएको छ । उद्देश्यनिर्दिष्ट राजनीति केवल राजनीतिक पद, पद–प्रतिष्ठा र पद–आशक्तिका लागि होइन, अपितु आफ्ने घरपरिवार, गाउँसमाज, सार्वजनिक विद्यालय, पराकिलो परिवेशबाट गुज्रिएको समाजमा सिकिने र जीवनभर सिक्न सकिने अध्यायको रूमा नयाँ अभ्यास आरम्भ गराएको छ ।
राजनीतिक मूल्यको विषयवस्तु
आज १८ औँ गणतन्त्र दिवस मनाइरहँदा छिन्नभिन्न भएका विषयवस्तुहरू असरल्ल छरिएका छन् । गणतन्त्रलाई अनर्थमा लिने, उपहास गर्ने, उपेक्षा गर्ने, तेजोबध गर्ने, नकारात्मक टिप्पणीसहित प्रहार गर्ने आदि काम पनि भए । यो फगत बल प्रयोग थियो । वंशगत राजकाजका आधारमा चलेको २ सय ३७ वर्ष पुरानो निरंकुश राजतन्त्र फालेर बलिदानीपूर्ण संघर्षबाट प्राप्त भएको गणतन्त्रलाई मास्ने, उखाल्ने र फाल्ने प्रपञ्चविरुद्ध रचनात्मक ज्वारले आकर्षित कैयौँ कार्यक्रममाझ यो एउटा थियो । न्यायप्रेमी नेपाली जनताद्वारा शासित संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको दिनलाई जनमतको सर्वोच्तताका लागि यस्तो कार्यक्रम गर्नु आयोजना जरुरी थियो, जुन आज सम्पन्न भयो ।
गणतन्त्र गौरवका रूपमा व्यक्तिको खोजिका लागि घर–घर पुग्दै गर्दा क्रिया र प्रतिक्रिया भएका छन् । केही सुस्त र केही सुसुप्त आवाजहरू उठेका छन् । अपेक्षा गरेअनुरूप सामाजिक–आर्थिक विकास भएन होला ! भनेजस्तो पूर्वाधार विकास भएन होला ! हाम्रोजस्तो देशमा रिमोर्ट चलाइहाल्दा भइहाल्ने पनि केही होइन । केही मानिसको अपेक्षा तुहिएजस्तो तुषरापातको अवस्था विकास भएको नाटक रचिएको छ । देशमा केही छैन, केही होइन, केही भएन भन्ने नकारात्मक आभास दिने स्वरहरू भजनामृतको विषय बनाइएको छ । यसलाई अग्रजको खोजि कार्यक्रममार्फत पुनस्थापित गर्ने काम भएको छ ।
गणतन्त्र दिवस प्रत्येक देशभित्र र देशबाहिर बसोबासरत नेपालीको गौरव हो भनिरहँदा यसमा नेपाली जनताको बलिदान, त्याग, संघर्ष र लामो समयसम्मको प्रतिक्षाको प्रतिफल हो भन्ने विषयलाई सँगसँगै हेक्का राख्न जरुरी छ । यस पृष्ठभूमिमा प्राप्त गरेको संविधान, संघीयता, समावेशीता हाम्रा साझा पूंजी हुन् । यो पूंजीकृत अभ्यास नै गणतन्त्र हो ।
बलिदान र उत्सर्गका लागि तयार जनताको जनसंघर्षबाट स्थापित गणतन्त्र, जसले जनतालाई सार्वभौमसत्तासम्पन्न बनाएको छ, नागरिकमा निहित नैसर्गिक अधिकारसम्पन्न बनाएको छ, सामाजिक न्याय प्राप्तिको आधार र अधिकार दिलाएको छ, मतको लागि सबैलाई बोल्न पाउने अधिकार दिलाएको छ, यसलाई संविधानतः ठूलो उपलब्धी मान्नुपर्ने तर्कलाई विवेचना गरेको छ, विमर्श गरेको छ ।
शासकीय स्वरुप र गणतन्त्र
वास्तवमा हाम्रा अपेक्षा धेरै होलान् तथापि शासकीय स्वरुप विकासका दृष्टिकोणले गणतन्त्र जसले लिङ्गका आधारमा, जातीय पहिचानका आधारमा हुने विभेदको समूल नष्ट र संवैधानिक रुपमै अन्त्य गरेर समावेशीता लागू गर्न सक्यो । यो कुनै चानचुने कुरा हो र ? कुनै उपलब्धी होइन र ? समीक्षा गर्न उत्सुक तुल्याएको छ ।
इतिहासका पानालाई पल्टाएर झवाट्ट हेर्दा आजको दिन हामीले निकै ठूलो परिवर्तन ल्याएका थियौँ । सदियौंदेखिको राजतन्त्रको अन्त्य गर्दै जनताको शासन, जनताको प्रतिनिधि र जनताको चाहनाअनुसार चल्ने गणतान्त्रिक व्यवस्था स्थापना गरिएको थियो । यो कुनै सामान्य परिवर्तन थिएन, यो परिवर्तन थियो— चेतनाको, अधिकारको, समानताको र जनअधिकारप्रतिको विजयको भन्ने कुरालाई उजागर गरेको छ, यसतर्फ जागरण सिर्जना गरेको छ ।
गणतन्त्र दिवस प्रत्येक देशभित्र र देशबाहिर बसोबासरत नेपालीको गौरव हो भनिरहँदा यसमा नेपाली जनताको बलिदान, त्याग, संघर्ष र लामो समयसम्मको प्रतिक्षाको प्रतिफल हो भन्ने विषयलाई सँगसँगै हेक्का राख्न जरुरी छ । यस पृष्ठभूमिमा प्राप्त गरेको संविधान, संघीयता, समावेशीता हाम्रा साझा पूंजी हुन् । यो पूंजीकृत अभ्यास नै गणतन्त्र हो ।
गणतन्त्रभित्र हरेक नागरिकले समान अवसर, समान सम्मान र न्याय प्राप्त गरेका छन् । हामीले गणतन्त्रको यो मर्मलाई बुझेर, जनतामै समर्पित भावनाले राजनीतिमा, समाजमा, शिक्षामा, स्वास्थ्यमा र न्याय व्यवस्थामा कार्यान्वयनमा जान आवश्यक छ ।
यसभित्र अटाएको एकता, भाइचाराले जात, भाषा, धर्म, क्षेत्र आदिका नाममा हुने फुटपरस्त अभिव्यक्ति र विभाजनकारी मानसिकतामा होइन, संगठित ढंगले समृद्ध राष्ट्र निर्माणको भावना लिएर अगाडि बढ्न सन्देश दिएको छ । अग्रजहरूको लगानीको प्रतिफलस्वरुप प्राप्त राज्य व्यवस्थाको पहिलो आकर्षणताको अन्तरवस्तु यही नै हो । विद्यमान समाजको अनुहारलाई ऐनामा उतार्न सक्ने प्राप्त गणतन्त्रात्मक शासन ब्यवस्था ल्याउन आफ्नो जीवन आहुती दिनुहुने बीर शहिदहरूप्रतिको सम्झना र सम्मानस्वरुप !
(लेखक बास्कोटा एमाले केन्द्रीय सदस्य हुनुहुन्छ ।)