
विराटनगर १२ जेठ । प्रमुख प्रतिपक्ष माओवादीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान सुरु गरेको भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्ने निर्णय गरेको छ । अख्तियारले भिजिट भिसा प्रकरणमा अध्यागमनका कर्मचारीमाथि अनुसन्धान सुरु गरेकाले त्यसको नैतिक जिम्मेवारी गृहमन्त्री लेखकले लिनुपर्ने माओवादीको भनाइ छ ।
माओवादीको सोमबार बसेको पदाधिकारी बैठकले भिजिट भिसाको सेटिङले मुलुकको साखमा आँच आएको भन्दै नैतिकताका आधारमा गृहमन्त्री लेखकले राजीनामा दिन संसद्मा दबाब दिने निर्णय गरेको छ ।
प्रमुख प्रतिपक्ष दलको हैसियतले भिजिट भिसा प्रकरणमा विपक्षी दलसँग छलफल गरी मंगलबार बस्ने संसद्को बैठकमा प्रस्तुत हुने निर्णय गरेको छ । ‘सबै विपक्षीसँग सल्लाह गरेर राजीनामा माग गर्ने निर्णय भएको छ । यस्ता घटनाहरू नजरअन्दाज गर्दै राष्ट्रको साख गिर्ने भएको हुनाले गृहमन्त्रीको राजीनामा माग गर्ने निर्णय भएको छ,’ माओवादी उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले भन्नुभयोे, ‘भिजिट भिसा प्रकरण मानव तस्करीसँग जोडिएको छ । यसलाई हाम्रो पार्टीले गम्भीरतापूर्वक लिएको छ ।’
विपक्षीले पहिलो चरणमा संसद्बाट गृहमन्त्रीको राजीनामा माग गर्ने, राजीनामा नदिए संसद् अवरुद्ध गर्नेसम्मका कार्यक्रम गर्ने तयारी गरेको छ । ‘पहिलो चरणमा राजीनामा माग गर्ने, भएन भने के के गर्नुपर्छ कार्यक्रम बनाइनेछ,’ सापकोटाले भन्नुभयो । सचिवालय बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहालले गृहमन्त्री लेखकले राजीनामा दिएपछि यसमा मुछिएका कर्मचारीको निष्पक्ष छानबिन हुनसक्ने बताउनु भएको थियो । माओवादी संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले संसद्मा प्रस्तुत हुने विषय तय हुन बाँकी रहेको बताउनुभयो ।
आगामी आर्थिक वर्षका बजेट ल्याउने दिन जेठ १५ अघि विपक्षले भिजिट भिसा प्रकरणमा सरकारमाथि दबाब सिर्जना गर्ने तयारी गरेका छन् । माओवादीको पहलमा विपक्षीको बैठक गर्ने तयारी छ ।