राज्य प्रणालीको समीक्षा हुनुपर्छ : नेता सिटौला

विराटनगर, ११ जेठ । नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री कृष्णप्रसाद सिटौलाले संविधान जारी भएको १० वर्ष भइसकेकाले राज्यको सबै प्रणालीको समीक्षा हुनु पर्ने बताउनुभएको छ । उहाँले आज पत्रकारहरुसँगको भेटघाटमा नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी(एमाले) मात्रले संविधान संशोधन गर्न नसकिने भन्दै संविधान संशोधनका निम्ति प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सरकार पनि आवश्यक पर्ने कुरामा जोड दिनुभयो ।

नेता सिटौलाले विगत देखिका सरकारहरुले जनताका पक्षमा गर्न सकिने काम पनि नगरेकाले जनतामा नैराश्यता बढेको चर्चा गर्दै सत्तामा हुँदा सबै ठिक र नहुँद बेठिक भत्रे प्रवृतिले गर्दा जनतामा आक्रोश बढेको टिप्पणी गर्नुभयो । राजनीतिक दलहरुलाई पनि व्यवस्थित हुनु पर्ने जिकिर गर्दै नेता सिटौलाले लोकतन्त्रमा विरोध गर्न पाइन्छ तर यही विरोधको भरमा राजसंस्था फर्केर नआउने दाबी गर्नुभयो ।

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई सुदृढ गर्नु पर्छ भन्दै राजनीतिक दलका नेताहरुले जिम्मेवारीपूर्वक विचार प्रवाह गर्नु पर्ने सुझाव दिनुभयो । उहाँले अनुसन्धानकै क्रममा रहेका कर्मचारीको विषय लिएर गृहमन्त्री रमेश लेखकले राजिनामा दिने कुरा हुँदैन भन्दै नेपाली कांग्रेसको महाधिवेशन पाँच वर्षमा हुने परम्परा रहेकाले आगामी अधिवेशन २०८३ मङ्सिर भित्र हुन सक्ने विचार राख्नुभयो ।

उहाँले जनमत सङ्ग्रह र हिन्दु राष्ट्रका विषय संसदको छलफलको विषय भएकाले कुनै व्यक्तिले भन्दैमा जनमत सङ्ग्रह नहुने धारणा राख्नुभयो ।