विराटनगर, १९ असार । प्रदेश–१ सरकारले ओलम्पिक, एसियन र साफ प्रतियोगितामा सहभागी भएका प्रदेश १ का खेलाडी सम्मान गरेको छ ।
प्रदेश १ सरकारले पहिलो पटक ओलम्पिक, एसियन र साफमा प्रतिनिधित्व गरेको खेलाडीलाई सम्मान गरेको हो । प्रदेश खेलकुद विकास बोर्डले आज विराटनगरमा आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री राजेन्द्र राईले खेलाडीहरुलाई सम्मान गर्नुभयो । खेलाडीहरुलाई हौसला प्रदान गर्न सम्मान गरिएको मुख्यमन्त्री राईले बतानउनुभयो । उहाँले राष्ट्रका लागि ऊर्जाशील जीवन अर्पण गर्ने खेलाडीहरुलाई राज्यले सम्मान गर्न चुक्न नहुनेमा जोड दिनुभयो । त्यस्तै सामाजिक विकासमन्त्री राजन राईले सम्मान गरिएका खेलाडीहरु प्रदेशका मात्रै नभएर राष्ट्रकै गौरव भएको बताउनुभयो ।
प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव हंसराज वाग्लेले २०३० सालदेखि ओलम्पिक, एसियन र साफमा प्रदेशबाट प्रतिनिधित्व गरेका खेलाडीलाई सम्मान गरिएको जानकारी दिनुभयो । सो अवसरमा फुटबल, भलिबल, पौडी, कराँते, तेक्वान्दो, कबड्डीलगायतका १ सय ८७ जना खेलाडीहरुलाई सम्मान गरिएको उहाँले बताउनुभयो । हालसम्म प्रदेश १ बाट ओलम्पिक खेलमा ९ जना, एसियन खेलमा ३६ जना र साफमा १ सय ५० जना सहभागी खेलाडी सम्मानित भएका हुन् ।
यसैबीच, सोही समारोहमा नोवेल र काठमाडौं मेडिकल कलेजले ओलम्पिक, एसियन र साफमा सहभागी सबै खेलाडीको निःशुल्क उपचार गरिदिने भएको छ । यस विषयमा खेलकुद बोर्डले मेडिकल कलेजका सञ्चालक सुनिल शर्मा र इन्दिरा शर्माले सम्झौता हस्ताक्षर गर्नु भएको छ ।
सम्झौताअनुसार आगामी ५ वर्षसम्म खेलाडीहरुले निःशुल्क उपचार पाउनेछन् । त्यस्तै खेलाडीका परिवारले ५० प्रतिशत छुटमा उपचार सुविधा प्राप्त गर्ने जनाइएको छ ।