
विराटनगर १६ वैशाख । न्युनतम पारिश्रमिक तथा सेवा सुविधा नपाएको विषयमा उजुरी र गुनासोहरु बढ्दै गएको छ । पछिल्लो ९ महिनामा श्रम तथा रोजगार कार्यालय कोशी प्रदेश विराटनगरमा ८६ वटा उजुरी परको छ ।
जसमा व्यक्तिगत ५९ र सामुहिक २७ वटा रहेका छन् । उजुरी परेका मध्ये ३८ वटा फछ्र्यौट गरिएको श्रम तथा रोजगार कार्यालय कोशी प्रदेश विराटनगरका प्रमुख बरिष्ठ श्रम अधिकृत पुष्पराज कट्वालले जानकारी दिनुभयो । श्रम तथा रोजगार कार्यालय कोशी प्रदेश कार्यालयले आज चालु आर्थिक वर्षको हाल सम्मको प्रगतिका विषयमा आयोजना गरेको पत्रकार सम्मेलनमा अधिकृत कट्वालले ४८ वटा उजुरी फछ्र्यौटको प्रकृयामा रहेको बताउनुभयो ।
श्रमिकहरुले प्रतिष्ठानबाट पाउनुपर्ने न्युनतम पारिश्रमिक तथा सेवा सुविधा नपाएको विषयमा पछिल्लो समयमा उजुरी र गुनासोहरु बढ्दै गएको बताउनुभयो । उहाँले न्युनतम पारिश्रमिक तथा सेवा सुविधा नपाएको विषयमा परेका उजुरी माथि तत्काल कारवाही शुरु गर्ने गरिएको बताउनुभयो । उहाँले श्रमिकहरुको पारिश्रमिक लगायतका सुविधाहरु नियमित उपलब्ध गराउने प्रतिष्ठानहरुको संख्यामा उल्लेख्य बृद्धि भएको बताउनु भएको छ । श्रम तथा रोजगार कार्यालयले बालश्रम पूर्णतया निषेधित गराउने कार्य भएको बताउनुभयो । उहाँका अनुसार विभिन्न उद्योग÷प्रतिष्ठानहरुलाई श्रम लेखापरिक्षण गरि प्रतिवेदन पेश गर्न भनिएको र पेश नभए कारवाही गरिने छ ।
श्रम तथा रोजगार कार्यालय विराटनगरले कोशी प्रदेशका १० जिल्ला साविकको मेची अञ्चलका ४ जिल्ला बाहेकमा सेवा प्रवाह गर्दै आएको उहाँले बताउनुभयो ।
कार्यालय प्रमुख कट्वालले श्रम ऐन २०७४ बमोजिम न्युनतम पारिश्रमिक दिए/नदिएको, बालश्रम रहे, नरहेको तथा सामाजिक सुरक्षा कोषमा सूचिकृत भई सुरक्षा कोषमा आबद्ध भए नभएको हेरेर मात्रै कार्यक्रम सञ्चालन गर्न प्रदेश भित्रका संघीय कार्यालय, प्रदेश सरकार र अन्तरगतका कार्यालय, स्थानीय तहहरुमा पत्राचार गरिएको बताउनुभयो ।