
विराटनगर ८ वैशाख । विराट युवा विचारक मञ्चले हालै भएको स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा विजयी तीनवटै क्याम्पसका पदाधिकारी तथा सदस्यहरूलाई अभिमुखीकरण गरेको छ ।
तीनवटा राजनीतिक दलका नेताहरुको सहभागितामा सम्पन्न अभिमुखीकरणको सुरुमा एलिट क्लबका महासचिव तथा अग्रज पत्रकार यज्ञ शर्माले विद्यार्थी आन्दोलनको बदलिँदो स्वरुपको चर्चा गर्दै वर्तमान अवस्थामा स्वतन्त्र विद्यार्थी युनियनको भुमिका स्तरीय पठनपाठनका लागि गतिशील भएर काम गर्नुपर्ने र आवश्यक परे क्याम्पस प्रशासन र सरकारलाई समेत दवाब दिन सक्नुपर्ने बताउनु भएको थियो । कार्यक्रममा नेकपा माओवादीका नेतृ गीता तिम्सिनाले स्वतन्त्र विद्यार्थी युनियनमा विजयी युवाहरुले इमान्दार र अनुशासित नेतृत्वका रुपमा आफुलाई विकास गर्नुपर्ने सुझाव दिनुभयो ।
नेकपा (एमाले) मोरङका उपाध्यक्ष सागर थापाले स्वतन्त्र विद्यार्थी युनियनको चुनाव संसदीय चुनाव जस्तै खर्चिलो बन्दै गएकोमा चिन्ता व्यक्त गर्दै अबको विद्यार्थीले गुणस्तरीय शिक्षाका लागि दवाब मुलक भुमिका निर्वाह गर्नुपर्दछ भन्नुभयो ।
नेपाली कांग्रेसका नेता फुलकुमार लालवानीले राजनीतिक आन्दोलन सकिए पनि संविधानको कार्यान्वयन र लोकतन्त्रको रक्षाका लागि विद्यार्थीहरुले महत्वपुर्ण भुमिका निर्वाह गर्नुपर्ने अवस्था आउनसक्नेतर्फ औल्याउनु भयो । कार्यक्रममा बुद्धिजीवी दिनेश श्रेष्ठले आजका विद्यार्थीहरुले पठन संस्कृतिमा ध्यान दिनुपर्ने सुझाव दिनु भयो ।
मञ्चका संयोजक प्रमिल अधिकारीको अध्यक्षतामा भएको सो कार्यक्रममा विराटनगरमा रहेका तीनवटै क्याम्पसहरु महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस, डिग्री क्याम्पस तथा नर्सिङ क्याम्पसका हालै सम्पन्न निर्वाचनबाट स्वतन्त्र विद्यार्थी युनियनमा विजयी पदाधिकारी तथा सदस्यहरु सहभागी रहेका थिए ।
कार्यक्रमको अन्त्यमा नवनिर्वाचितहरुको तर्फबाट स्ववियु सभापतिहरु डिग्री क्याम्पसका प्रितम साह, मोरङ क्याम्पसका रोहित यादव तथा नर्सिङ क्याम्पसका रोहितकुमार ताजपुरियाले मन्तव्य व्यक्त गरेका थिए ।