
विराटनगर ६ वैशाख । नेकपा एमाले विराटनगर महानगरकमिटीको दोश्रो अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुको आज सपथग्रहण भएको छ ।
एमाले मोरङ पार्टी कार्यालय पाञ्चालीमा आयोजित कार्यक्रममा नवनिर्वाचित कमिटीको सपथग्रहण गराईएको थियो । सपथग्रहण कार्यक्रममा महानगरकमिटीका अध्यक्ष बलराज गिरी (नविन) ले महानगर कमिटी एक ढिक्का भएर अघि बढ्ने बताउनुभयो ।
निर्वाचनमा प्रतिष्पर्धा भएपनि महानगर कमिटीले सवैलाई समेटेर अघि बढ्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । अध्यक्ष गिरीले भन्नुभयो,‘ महानगर कमिटीलाई गतिशिलता दिन महानगर कमिटीका निवर्तमान अध्यक्ष रोहित कोइरालाको पनि सल्लाह मलाई आवस्यक छ । उहाँलाई पनि सँगै लिएर अघि बढ्ने छु ।’ निर्वाचनमा संस्थापन र इतरपक्ष भन्दै गरिएको प्रचार प्रति उहाँले आपत्ती जनाउनुभयो । अध्यक्ष गिरीले भन्नुभयो,‘ म पनि केपी ओली पक्षकै उम्मेदवार हुँ , रोहित कोइराला पनि केपी ओली पक्षकै हो । अनि कसरी कोही संस्थापन र कोही इतर पक्ष भयो ।’ पार्टीमा इतरपक्ष कोही छैन सवै संस्थापन ।’ महानगर कमिटी अव एक ढिक्का भएर अघि बढ्ने उहाँले बताउनुभयो ।
सपथग्रहण समारोहमा एमाले केन्द्रीय सदस्य जीवन घिमिरे, रामलाल साह, मोरङ सचिव सोमराज थापा, महानगर इन्चार्ज पर्शुराम वस्नेत लगायत नेताहरुले नवनिर्वाचित कमिटीलाई बधाई तथा शुभकामना दिनुभएको थियो ।
वैशाख २ गते उद्घाटन भएको महानगर अधिवेशन शुक्रबार विहान सम्पन्न भएको थियो । अधिवेशनले अध्यक्षमा बलराम गिरी, उपाध्यक्षमा सुरज न्यौपाने, सचिवमा विज्ञान चापागाई, उपसचिवमा हमिद आजाद र हिमा मैनाली पोखरेल सहित ९१ सदस्यीय महानगर कमिटी निर्वाचित भएको थियो ।