
विराटनगर ४ वैशाख । नेकपा एमाले विराटनगर महानगर कमिटीका ६८ सदस्य निर्विरोध निर्वाचित भएका छन् ।
५ पदाधिकारी सहित ९१ सदस्यीय कमिटीमा ६८ जना निर्विरोध भएका हुन । पदाधिकारी र सदस्य पदका लागि निर्वाचन हुने भएकाे छ । मतदान साँझ ५ :१५ देखि हुने निर्वाचन समितिले जनाएको छ ।
महानगरको नयाँ नेतृत्वका लागि संगठन कमिटीका वर्तमान अध्यक्ष रोहित कोइराला र सचिव बलराम गिरी (नविन) को नेतृत्वको अलग–अलग प्यानलवीच प्रतिष्पर्धा हुने भएको छ ।
कोइराला समूहबाट उपाध्यक्षमा राम पोखरेल, सचिवमा नवराज काफ्ले र उपसचिवमा प्रेमकला डाँगी र चन्द्र शेखर विश्वासले उम्मेदवारी दिएका छन् ।
गिरी समूहबाट उपाध्यक्षमा सुवासप्रसाद न्यौपाने, सचिवमा विज्ञान शर्मा चापागाई, उपसचिवमा हिमा मैनाली पोखरेल, हमित आजादकाे उम्मेदवारी परेकाे छ ।
अधिवेशनले ९१ सदस्यीय महानगर कमिटी निर्वाचित गर्ने छ । अधिवेशनमा १५ मनोनित सहित ३१४ प्रतिनिधि सहभागि छन् ।