एमाले विराटनगर महानगरको उपसचिवमा हिमा मैनाली पोखरेलको उमेद्वारी

विराटनगर, ३ बैशाख । नेकपा एमाले विराटनगर महानगरको दोस्रो महानगर अधिवेशनमा हिमा मैनाली पोखरेलले उपसचिव पदमा उम्मेदवारी दिनुभएको छ ।

बौद्धिक व्यक्तित्वका रुपमा चिनिएकी पोखरेलको उम्मेदवारीलाई लिएर धेरैले चासो राखेका छन्। झापा जिल्लामा जन्मिएकी उहाँ विगत २०६० सालदेखि विराटनगरमा स्थायी बसोबास गर्दै आउनुभएको छ। विद्यालय अध्ययनकै क्रममा अनेरास्ववियुबाट राजनीतिक यात्रा सुरु गर्नुभएकी उहाँ हाल अनेमसंघ महानगर कमिटीकी सचिव हुनुहुन्छ ।

एमाले महानगर कमिटीकी निवर्तमान सचिवालय सदस्य समेत रहनुभएकी उहाँले नेकपा एमाले १२ नम्बर वडाको लामो समयसम्म सचिव भई कार्य गर्नुभएको छ ।

वाणिज्य शास्त्रमा स्नातकोत्तर उहा विगत लामो समयदेखि पूर्वकै सबैभन्दा ठूलो र ऐतिहासिक क्याम्पस महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरमा मास्टर्स लेबलका विद्यार्थीहरुलाई अध्यापन गराउनुहुन्छ ।

एमाले भित्र एउटा बौद्धिक महिलाको रुपमा आफूलाई स्थापित गराउन सफल हुनुभएकी उहाँ आफूलाई प्रतिनिधिहरुले लोकप्रिय मतका साथ विजयी गराउने कुरामा विश्वस्त हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘मैले लामो समयदेखि महानगरभित्र पार्टीको विभिन्न जिम्मेवारीमा रहेर राजनीतिक नेतृत्व गर्दै आएकी छु प्रतिनिधिहरुले यसको मूल्यांकन अवश्य गर्नु हुनेछ । ’