
विराटनगर–राम पोखरेल, विराटनगर महानगरपालिका ८ का वडाध्यक्ष हुन् । ०७९ को स्थानीय तह निर्वाचनमा फराकिलो मतान्तरले नेपाली कांग्रेसका उम्मेदवारलाई पराजित गरि वडाध्यक्षमा निर्वाचित भए ।
नेपाली कांग्रेस प्रभावित क्षेत्रमा एमालेका उम्मेदवार पोखरेल सहजै निर्वाचित भए । उनी निर्वाचित हुनुको पछाडी उनको काम प्रतिको लगनशिलता र नेतृत्व गर्ने शैलीले वडावासीलाई प्रभावित बनाएको थियो ।
वडाध्यक्ष हुनु अघि उनी नेकपा एमाले विराटनगर ८ वडा कमिटीको अध्यक्ष थिए । विराटनगरका १९ वटा वडा मध्ये उनी अध्यक्ष भएको समयमा सवै भन्दा बढी क्रियाशिल वडा भनेकै विराटनगर ८ थियो । पार्टीका नियमित गतिविधि विराटनगर ८ मै हुन्थे । पार्टीका गतिविधिसँगै विकास निर्माणको नेतृत्व पनि पोखरेलले नै गर्ने गरेका थिए । महानगर, वडामा नेपाली कांग्रेसको नेतृत्व भएपनि विकास निर्माणको पहल लिने, प्रदेश सरकारका मन्त्रालयमा पुगेर विकास निर्माणका योजना हाल्नका लागि पहल गर्ने उनै पुग्ने गरेका थिए ।
पार्टीको वडा कमिटी अध्यक्ष हुनु अघि पूर्वसामाजिक विकासमन्त्री जीवन घिमिरेका स्वकीय सचिवको जिम्मेवारीमा उनी थिए । मन्त्री घिमिरेको सचिवालयमा बस्दा कोभिडको समयमा गरेको कामको आत्मबलले सामाजिक विकासलाई जोड दिएको उनले बताए । उनले भने,‘ कोभिडकालमा जनप्रतिनिधि भन्दा पनि स्थानीयवासीले मलाई खोजे ।’ कोभिडकालमा गरेको कामले सामाजिक कार्यप्रति झन चासो बढाएको उनले बताए ।
मन्त्रीको सचिवालय पछि वडा पार्टी कमिटीको गतिविधि र कुशल नेतृत्व गर्ने शैलीकै कारण ०७९ को स्थानीय तह निर्वाचनमा पार्टीको पहिलो रोजाईमा उनी परे । उनलाई पार्टीले वडाध्यक्षको उम्मेदवार बनायो । नेपाली कांग्रेसका उम्मेदवारलाई ८९६ मतान्तरले पराजित गरे । ०७४ मा एमाले सोही वडामा ९० मतान्तरले पराजित भएको थियो । ०७४ मा एमालेको मत ९५५ थियो । ५ वर्षमा पोखरेलले एमालेको पक्षमा दोब्बर मत बढाए । सवै सँग मिल्ने र सवैको कुरा सुन्ने, विकास निर्माणको क्षेत्रमा अग्रसरता लिने र पाएको जिम्मेवारीलाई कुशलतापुर्वक निर्वाह गर्ने उनको शैलीका कारण उनी विराटनगर १९ वटा वडाध्यक्षहरु मध्येमा उनी अगाडी छन् ।
वडामा नयाँ–नयाँ कार्यक्रम ल्याउने, सामाजिक विकास र भौतिक विकासको कामलाई महत्वदिने, नगरस्तरिय कार्यक्रमहरुलाई आर्थिक वर्षको अगावै सम्पन्न गर्ने उनको शैलीको अहिले अन्य वडाध्यक्षहरुले पनि अनुशरण गर्न थालेका छन् ।
भौतिक पूर्वाधारको क्षेत्रमा जो आए पनि काम नरोकिने उनले बताए । तीनवटै सरकारको सहकार्यमा आफ्नो वडामा २ वर्षमा ५ किलो मिटरभन्दा कालोपत्रे गरिएको उनले बताए । यसवर्ष ३ किलो मिटरभन्दा बढी कालोपत्रे गर्ने उनको भनाइ छ । नाला बनाउने काम पनि भइरहेका उनले बताए । डुबानलाई कम गर्न नालालाई प्राथमिकता दिएको पोखरेलले बताए ।
प्रत्येक महिनाको पहिलो सोमबार विराट आँखा अस्पतालको सहकार्यमा निःशुल्क आँखा चेकजाँच र उपलब्ध हुने औषधि दिइने गरेको उनले बताए । सुत्केरी भेट कार्यक्रम, जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण कार्यक्रम पनि नियमित रहेको उनले बताए ।
वडाध्यक्ष पोखरेलले आफुले पाउने सुविधाबाट एक अपाङ्गता भएकी महिलालाई रोजगारी दिएका छन् । सेवाग्राहीका निवेदन लगायतका कुराहरुमा सहजीकरणका लागि आफ्नै सुविधाबाट पारिश्रमिकत दिएर रोजगारी दिएको उनले बताए ।
वडा भित्रका रातो कार्ड बाहेकका अपाङ्गता भएका २८ परिवारको निशुल्क स्वास्थ्य बीमा गरिदिएको पोखरेलले बताए । विराटनगर ८ मा ४ वटा सामुदायिक विद्यालयसमेत छन् । यी विद्यालयमा विद्यार्थीहरूका लागि योग शिविरसमेत वडाले नै गराउने गरेको उनले जानकारी दिए ।
विद्यालयमा खेल सामग्री, मन्टेश्वरी शिक्षाका लागि आवस्यक सहयोग पनि वडाले गरेको उनले बताए । वडाका हरेक क्षेत्रलाई समेट्ने गरिका कार्यक्रम सञ्चालनमा रहेको उनले बताए । वडाध्यक्ष भएको १ हजार दिन पुगेको छ । हजार दिनमा वडाले उल्लेखनीय प्रगति गरेको पोखरेलले बताए ।
स्थानीय सरकार भनेको दुःख पर्दाको घर आँगनको सरकार भएकाले जनतालाई हरेक क्षणमा साथ दिनुपर्ने मान्यता उनको छ । उनले भने,‘ सोही अनुशारको काम म गर्दै आएको छु ।’
पोखरेल जिम्मेवारी लिन हत्तपत्त अग्रसर हुँदैनन् तर पाएको जिम्मेवारीलाई कुशलतापुर्वक निर्वाह गर्दै आएका छन् ।
पोखरेलले विराटनगरमा जारी विराटनगर महानगर कमिटीको उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । महानगर कमिटीको प्रवक्ताको जिम्मेवारी सम्हालिसकेका पोखरेलले महानगरको उपाध्यक्षमा निर्वाचित भए पार्टी संगठनलाई गतिशिल बनाउने बताउँछन् ।