
विराटनगर २९ चैत । नेकपा एमाले विराटनगर महानगर कमिटीको दोस्रो अधिवेशनका लागि प्रतिनिधि छनोट सम्पन्न भएको छ । वैशाख २ र ३ गते विराटनगर स्थित एमाले प्रदेश पार्टी कार्यालयमा सम्पन्न हुने दोस्रो अधिवेशनका लागि वडा तथा जनसंगठनबाट आउने प्रतिनिधि छनोट सम्पन्न भएको हो ।
चैत २१ गते बसेको महानगर कमिटीको दोस्रो सचिवालय कमिटीको बैठकको निर्णय अनुसार चैत २८ गते महानगरको १९ वटै वडाबाट र आज जनसंगठनबाट आउने प्रतिनिधिहरुको छनोट सम्पन्न भएको महानगर कमिटीका प्रवक्ता एवम् प्रचार उपसमिति संयोजक राम पोखरेलले बताउनुभयो । पोखरेलका अनुसार महानगर अधिवेशनका लागि महानगर १९ वटै वडाबाट २२० जना प्रतिनिधि छनोट हुनुभएको छ ।
भूगोलबाट प्रतिनिधि छनोट हुनुभएको २२० जना मध्ये खुला क्षेत्र बाट ११५ जना , महिला ६८ जना र युवाबाट ३७ जनाको सहभागिता रहने छ । त्यस्तै, महानगरमा क्रियाशील १६ जनसंगठनबाट ७९ जना प्रतिनिधि छनोट हुनुभएको हो पोखरेलले जानकारी दिनुभयो ।
पोखरेलले क्रियाशील जनसंगठन मध्ये अधिवेशनलाई थप समावेशी तथा प्रतिनिधिमूलक बनाउन अखिल नेपाल महिला संघ , नेपाल उत्पीडित जातीय मुक्ति समाज र नेपाल ट्रेड युनियन महासंघ ( जिफण्ट ) बाट १० जनाको प्रतिनिधित्व सुनिश्चित गरेको तथा अन्य जनसंगठनको हकमा पार्टीको निर्णय बमोजिम प्रतिनिधि चयन समेत बताउनु भयो ।
महानगर कमिटीका अध्यक्ष रोहित कोइरालाले भूगोलबाट २२० जना , जनसंगठनबाट ७९ र १५ जना मनोनित गरेर अधिवेशनमा ३१४ जना प्रतिनिधिको सहभागिता रहने जानकारी दिनुभयो। कोइरालाले १५ जना प्रतिनिधि मनोनयन गर्दा प्रतिनिधित्व गर्न छुटेको क्षेत्र तथा समुदायका व्यक्तिहरुलाई प्राथिमिकता दिने बताउनु भयो ।
एमाले कोशी प्रदेश कमिटी सदस्य तथा विराटनगर महानगर इन्चार्ज पर्शुराम बस्नेतले अधिवेशनको उद्घाटन पार्टीका स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री शेरधन राईले गर्ने बताउनु भयो। बस्नेतले वैशाख २ गते विराटनगरको रोडशेष क्षेत्रबाट विभिन्न जातीय संस्कृति झल्किने झाँकी सहित र्यालीको आयोजना समेत गरिने बताउनु भयो ।
चैत २१ गते बसेको महानगर कमिटीको दोस्रो सचिवालय बैठकले अधिवेशन सम्पन्न अध्यक्ष रोहित कोइरालाको नेतृत्वमा सबै वडाको वडा अध्यक्ष तथा सचिवको सहभागिता रहने २५१ मुल व्यवस्थापन समिति तथा थप ९ वटा उपसमिति बनाईसकेको छ ।