एमाले विराटनगर अधिवेशनका लागि प्रतिनिधि छनौट

विराटनगर २८ चैत । नेकपा एमाले विराटनगर महानगरपालिकाको दोश्रो अधिवेशनका लागि आज सवै वडामा एकै पटक प्रतिनिधि छनौट गरिएको छ ।

आगामी वैशाख २ र ३ गते हुने अधिवेशनका लागि आज एकैदिन एकै दिन भूगोलका प्रतिनिधि चयन गर्ने निर्णय अनुशार प्रतिनिघि चयन गरिएको महानगर सचिव बलराम गिरीले जानकारी दिनुभयो । उहाँका अनुशार केही वडाहरुमा प्रतिनिधि चयनको प्रकृया अन्तिम चरणमा र केही बेरपछि सकिने छ ।  महानगरका १९ वटै वडाबाट प्रतिनिधि चयन आज सकिने छ । जन संगठनहरुको प्रतिनिधि चयन शुक्रबार गरिने महानगरका सचिव गिरीले बताउनुभयो ।

महानगर अधिवेशनका लागि २२१ जना प्रतिनिधि चयन भएर आउने छ । १५ जना मनोनित गरिने सचिव गिरीले जानकारी दिनुभयो ।

विराटनगर वडा नंं ९ र १५ मा सर्वसम्मतमा सहमति नजुटेपछि मतदान प्रकृयाबाट प्रतिनिधि चयन गरिएको प्रवक्ता राम पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार वडा नंं ३ मा सर्वसम्मतीका लागि छलफल जारी छ ।

दोश्रो महानगर अधिवेशनका लागि महानगरका अध्यक्ष रोहित कोइरालाको संयोजकत्वमा महानगर कमिटी तथा वडा कमिटीका अध्यक्ष र सचिव रहनेगरी २५१ सदस्यीय मूल व्यवस्थापन समिति गठन गरिएको छ ।

सचिव बलराम गिरीको संयोजकत्वमा प्रतिनिधि व्यवस्थापन उपसमिति, प्रवक्ता राम पोखरेलको संयोजकत्वमा प्रचार–प्रसार उपसमिति गठन भएको छ ।