मोरङ ग्रामथानका अध्यक्षले वडाध्यक्षलाई कार्यवाहकको जिम्मेवारी दिने निर्णय कार्यान्वयन नगर्न उच्च अदालतको आदेश

विराटनगर २८ चैत । मोरङ ग्रामथान गाउँपालिकाका अध्यक्ष नमोनारायण माझीले कानुन विपरित वडाध्यक्षलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने निर्णयलाई कार्यान्वयन नगर्न उच्च अदालत विराटनगरले अन्तरिम आदेश दिएको छ । कानुन विपरित कार्यावाहकको जिम्मेवारी दिएको भन्दै निर्णय कार्यान्वयन नगर्न उच्च अदालत विराटनगरले अन्तरिम आदेश दिएको हो ।

उच्च अदालत विराटनगरका न्यायधीस ध्रुवराज नन्दको एकल इजलासले बिहीबार उपाध्यक्ष थारुको रिटमाथिको सुनुवाइ गर्दै वडाध्यक्षलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने अध्यक्ष माझीको निर्णय यथास्थितिमा राख्न आदेश दिएको हो ।

अदालतको आदेशमा भनिएको छ ‘गाउँपालिकाका अध्यक्ष मिति २०८१।१२।२६ बाट विदेश मुलुक चीन भ्रमणमा गई फर्की नआउँदासम्म वहालवाला उपाध्यक्ष रिट निवेदकले अध्यक्षको कार्यभार सम्हाल्न पाउने नै हुँदा प्रत्यर्थी अध्यक्ष नमो नारायण माझीले वडा अध्यक्षलाई अधिकार प्रत्यायोजन गरेको च.नं. १९६९ मिति २०८१।१२।२५ को पत्र र सो सम्वद्ध निर्णयहरु कार्यान्वयन नगरी यथास्थितिमा राख्नु भनी विपक्षीहरुको नाममा उच्च अदालत नियमावली, २०७३ को नियम ४२ बमोजिम अन्तरिम आदेश जारी गरी दिएको छ । प्रस्तुत आदेशको जानकारी समेत विपक्षीहरुलाई दिनू ।’

‘स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १६ को कार्यपालिकाको कार्यविभाजन र कार्यसम्पादन भन्ने व्यवस्था अन्तर्गत उपदफा (४) को (क) मा अध्यक्ष वा प्रमुखको काम कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ भन्ने प्रावधानको देहाय (१२) मा सातदिन भन्दा बढी समय गाउँपालिका वा नगरपालिकामा अनुपस्थित हुने भएमा उपाध्यक्ष वा उपप्रमुखलाई कार्यभार दिने भन्ने समेतको व्यवस्था गरेको र सोही दफा १६ (४) को देहाय (ख) (२) मा अध्यक्ष वा प्रमुखको अनुपस्थितिमा निजको कार्यभार सम्हाल्ने भनी उपाध्यक्षको काम, कर्तव्य र अधिकार तोकिएको पाइएको’ भन्दै अदालतले कानुनी प्रबन्ध सम्झाएको छ ।

उपाध्यक्ष गुणवतीदेवी थारू गाउँपालिकामै हुँदाहुँदै अध्यक्ष माझीले वडा नम्बर ३ का अध्यक्ष रमेशकुमार भगतलाई कार्यवाहकको जिम्मेवारी दिएर माओवादीका नेताहरूसहितको टोलीमा चीन भ्रमण गएका थिए ।