
विराटनगर २७ फागुन । विराटनगरमा आकासे पुल शिलान्यासमै सिमित भएको छ । ०७६ सालमा विराटनगरमा आकाशी पुलले व्यापक चर्चा पनि पायोे ।
तत्कालिन महानगर प्रमुख तथा हाल कोशी प्रदेशसभा सदस्य भीम पराजुलीको चौतर्फी प्रशंसा भयो । विराटनगरमा आकाश पुल विराटनगरवासीको लागि एउटा नयाँ दीर्घकालीन योजना थियो । दैनिक बढ्दै गएको सडक दुर्घटना न्यूनीकरणको एक विकल्प थियो ।
विराटनगरका रोडशेष, वरगाछी, घाँसचोकमा आकाशेपुल बनाउने महत्वकांक्षी योजना अघि सारियो । तामझामका साथ बरगाछीमा शिलन्यास पनि भयो । शिलान्यास पनि काम अघि बढ्न सकेन । निर्माणको जिम्मा पाएको कला बिल्डर्स कम्पनीले ठेक्का प्राप्त गरेर भारतबाट आवश्यक सामग्रीहरू समेत आयात गरिसकेको थियो ।
एक वर्ष भित्रमा विराटनगरमा तीन स्थानमा आकाशे पुल निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएपनि कोभिड १९ को कारण देखाएर परियोजना अघि बढ्न सकेन । विराटनगर कञ्चनबारीमा आकाशे पुल निर्माणको काम नै शुरु भएपनि पछि गति लिन सकेन ।
आकाशे पुलका लागि विराटनगर रोडशेष सडक खण्डमा जगसमेत खनिएको थियो । विराटनगरको बस स्टेसन पनि नजिकै रहेको कारण दैनिक रूपमा पैदल यात्री र सवारी धेरै हुने भएका कारणले रोडशेषमा आकाशे पुलका निमित्त महानगरले योजना अघि बढाएको थियो । महानगरले डिपिआर गरेको स्थानमा हालका नगर प्रमुख नागेश कोइरालाको जग्गा समेत रहेको थियो । हाल जुन प्लटिङ गरिएको छ । त्यस समयमा आकाशे पुल त्यस स्थानमा पायक नभएको भन्दै कोइरालाले खुलेरै विरोध गरेका थिए । आपसी नोकझोक र राजनीतिक चपेटाका कारण आकाश पुल त्यस स्थानमा पनि बन्न सकेन । विराटनगर महानगरपालिका सो स्थानमा आकाशे पुल बनाउने योजनाबाट पछि हट्न बाध्य भएको थियो ।
आर.के बिल्डर्सलाई महानगरले मूल्य अभिवृद्धि कर बाहेक कुल २ करोड ४७ लाखको लागतमा योजनाको ठेक्का सम्झौता गरेको थियो । रोडशेष, घाँस चोकमा विराटनगरको कला बिल्डर्स कम्पनीले ठेक्का प्राप्त गरेको थियो । कोरोनाको विषम परिस्थितिमा ठेक्का प्राप्त गरेको कला बिल्डर्स कम्पनीले भारतबाट सामान आयात समेत गरिसकेको थियो । लागत सबै खर्चहरूका निमित्त कला बिल्डर्स कम्पनी र आरके बिल्डर्स कम्पनी तयार भइसकेको थियो । इन्जिनियरिङ र ग्राफिक डिजाइनको काम सकेर विराटनगरको तिनै स्थानमा शिलन्यास समेत भएको थियो । तर ठेक्का प्राप्त गरेता पनि महानगरपालिकाको कार्यशैलीमा लचकता देखाएपछि प्राप्त ठेक्का पनि आकाशे पुल स्टेचरसहितको अन्तत रद्द हुनपुग्यो । कला बिल्डर्स कम्पनीका सञ्चालक शैलेश यादवले भने, ‘ हामीलाई काम गर्न सहज थिएन कारण कोरोनाको विषम परिस्थिति तर पनि महानगरले सौन्दर्यकरणका लागि लिएको अठोटका कारणले हामीले भारतबाट सामानहरु आयात गर्याै तर राजनीतिक समस्या र महानगरको अडानको कारण हामी आकाशे पुल बनाउन असमर्थ भयौ ।’ विभिन्न चरणमा रद्द गर्दै पुनः सम्झौता गर्दै काम गर्ने अठोट लिएपनि महानगरको नेतृत्वले चासो नलिएपछि निर्माणको कामबाट पछि हटेको यादवले बताए ।
राष्ट्रिय जनगणना २०७८ अनुार विराटनगरको जनसंख्या २ लाख ४३ हजार ९२७ छ । विराटनगर कोशी प्रदेशको राजधानी पनि हो । दैनिक बढ्दै गरेको सवारी दुर्घटना साथै भारतबाट आउने मालवाहक ट्रकहरू कारण पनि विराटनगरमा तीव्र गतिमा सडक दुर्घटनाहरू बढिरहेका छन । यसतर्फ महानगरले दिगो योजना बनाएर पुन पहलकदमी लिनु आवश्यक रहेको स्थानीय वासीन्दाको भनाई छ । आकाशे पुल विराटनगरमा निर्माण भएमा समयको बचत, सडक दुर्घटना न्यूनीकरण, सौन्दर्यकरण, ट्राफिक व्यवस्थापनमा ठूलो मद्दत पुग्ने विराटनगर ५ का दीपेन्द्र थापाले बताए ।
प्रशिक्षार्थी पत्रकार