विराटनगर, २४ जेठ । विराटनगर महानगरपालिकाले आफ्नै छुट्टै आयुर्वेद स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । महानगरपालिकाको स्वामित्वमा रहेको आधारभूत आयुर्वेद स्वास्थ्य सेवा केन्द्रको महानगरकी उपमेयर शिल्पा निराला कार्कीले उद्घाटन गरेसँगै स्वास्थ्य सेवा केन्द्र औपचारिक रुपमा सञ्चालनमा आएको हो ।
विराटनगर वडा नम्बर ११ को जनपथ टोलमा सञ्चालनमा ल्याइएको सेवा केन्द्रबाट आयुर्वेदसम्बन्धी सम्पूर्ण उपचार हुनेछ । औषधिसहित सबै सम्पूर्ण उपचार सेवा निःशुल्क उपलब्ध गराइने महानगरले जनाएको छ । महानगरवासीको स्वास्थ्यलाई ध्यानमा राखेर हाल एउटा आयुर्वेद स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याइए पनि आगामी दिनमा सबै वडामा सेवा विस्तार गर्ने महानगरकी उपप्रमुख कार्कीले बताउनुभयो । उपप्रमुख कार्कीले सम्पूर्ण महानगरलाई प्रतिनिधित्व हुनेगरी विराटनगर–११ मा आयुर्वेद स्वास्थ्य केन्द्र स्थापना गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो ।
कार्यक्रममा महानगरका प्रशासकीय अधिकृत उमेश बस्नेतले सेवा केन्द्रबाट महानगरवासीले बढीभन्दा बढी लाभ प्राप्त गर्ने बताउनुभयो । उहाँले आगामी दिनमा महानगरका १९ वटै वडामा आयुर्वेद सेवा स्थापना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयोे । हालको जनशक्ति र भौतिक संरचनाका आधारमा दैनिक २५ जनालाई सेवा दिन सकिने महानगरको स्वास्थ्य महाशाखाका प्रमुख रमेश कार्कीले जानकारी दिनुभयो । बिरामी जाँच, औषधि वितरणसँगै हाडजोर्नी दुखाइलगायतका समस्याको उपचारसमेत हुनेछ ।
त्यस्तै पञ्चकर्म र पूर्वकर्मको समेत सुविधा आयुर्वेद स्वास्थ्य केन्द्रमा उपलब्ध हुने उहाँले बताए । उपमेयर कार्की, प्रमुख प्रशासकीय अधिकृत बस्नेत, वडाध्यक्ष न्यौपानेले क्रमशः पहिलो, दोस्रो र तेस्रो सेवा लिएका थिए । कार्यक्रममा स्वास्थ्य महाशाखाका सहसंयोजक राजेन्द्र कुइँकेल, जिल्ला आयुर्वेद केन्द्रका चिकित्सिक डा. निशान्त ढकाललगायतले आयुर्वेद चिकित्साका विषयमा आ–आफ्ना विचार व्यक्त गर्नुभएको थियो ।