
विराटनगर २८ माघ । अमेरिकी अन्तर्राष्ट्रिय विकास एजेन्सी (युएसएआइडी)को सहयोग अन्तर्गत स्वास्थ्य क्षेत्रमा सरकारी संयन्त्रमा आएको ७२ करोड ४४ लाख रुपैयाँ रोकिएको छ ।
नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले युएसएआइडीका कार्यक्रम रोक्दा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र मातहतका ५२ करोड २४ लाख ४० हजार रुपैयाँ र प्रदेशको १५ करोड र स्थानीय तहको ५ करोड रकम रोकिन पुगेको हो ।
रकम रोकिएपछि स्वास्थ्यका कार्यक्रमहरु प्रभावित हुने भएका छन । सबैभन्दा धेरै परिवार कल्याण अन्तर्गतका कार्यक्रमहरु प्रभावित हुने मन्त्रालयका कर्मचारीहरु बताउँछन । परिवार कल्याण अन्तर्गत १४ करोड ८० लाख रुपैयाँ बजेट आउने भएको थियो । उक्त बजेटबाट परिवार कल्याण अन्तर्गत विभिन्न ३५ वटा कार्यक्रम हुने भएको थियो । तर रकम रोकिँदा ती सबै कार्यक्रम प्रभावित हुने देखिएको छ । त्यसपछि स्वास्थ्य व्यवस्थापन कार्यक्रम अन्तर्गत १३ करोड ६५ लाख रुपैयाँ रकम रोकिएको छ ।
स्वास्थ्य व्यवस्थापन अन्तर्गत विभिन्न ४४ वटा कार्यक्रमहरु रहेका छन । त्यसैगरी, महामारी नियन्त्रण विषयको ६ करोड ९० लाख रुपैयाँ, स्वास्थ्य क्षेत्र सुधार कार्यक्रमको ३ करोड १७ लाख, प्रसूति गृहमा मिल्क बैक स्थापना तथा सञ्चालनका लागि १ करोड ५१ लाख रुपैयाँ, राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सूचना केन्द्रको ३ करोड ५० लाख रुपैयाँ, राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रको ४ करोड ६ लाख रुपैयाँ रोकिएको छ । यसैगरी, नर्सिङ तथा सामाजिक सुरक्षा सेवा कार्यक्रमको ४ करोड ४६ लाख रुपैयाँ र उपचारात्मक सेवा कार्यक्रमको ४९ लाख रुपैयाँ रोकिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।