विराटनगर २२ माघ । कोशी प्रदेशको प्रसिद्ध धार्मिक स्थल ताप्लेजुङको पाथिभरा क्षेत्रमा धार्मिक पर्यटनको विकासको लागि महत्वपूर्ण मानिएको पूर्वाधार, पाथीभरा केवलकार निर्माण अघि बढाउने सन्दर्भमा विवाद देखिएको प्रति नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेशले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
केही दिनदेखि भईरहेका गतिविधिप्रति महासंघले आज विज्ञप्ति निकालेर गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । विज्ञप्तिमा भनिएको छ,‘ सरकार र गैर सरकारी क्षेत्रबाट भएका विभिन्न अध्ययनहरूले कोशी प्रदेशमा पर्यटन क्षेत्रको विकास र विस्तार हुन नसक्नुमा पर्यटकीय पुर्वाधारको कमीलाई प्रमूख कारणका रुपमा औंल्याएको विदितै छ ।
पूर्वाधारको कमीका मुलतः वाह्य कारण पर्यटक आगमन हुन नसक्दा पर्यटन व्यवसायको विकास र रोजगारी सिर्जना हुन नसकिरहेको अहिलेको अवस्थामा केवलकार निर्माणका लगानी सुनिश्चित गरी निर्माण पुर्वका आवस्यक सबै प्रक्रिया समेत पुरा भई निर्माणको कार्य अघि बढ्न लाग्दा निर्माणमा अवरोध हुन उचित होइन । पाथीभरा मन्दिरको दर्शनका लागि आन्तरिक वाहेक वार्षिक लाखौं भारतीय पर्यटकलाई यस प्रदेशमा भित्राउन कोशेढुंगा सावित हुनसक्ने यस पुर्वाधार निर्माणमा हुने अवरोधले ताप्लेजुङ र समग्र प्रदेशवासीको हित गर्दैन ।’
अध्यक्ष राजेन्द्र राउतद्धारा विज्ञप्तिमा प्रत्यक्ष वैदेशिक लगानीका लागि सर्वप्रथम स्वदेशमा नै लगानीको वातावरण निर्माण गर्नुपर्द । यसका लागि निजी क्षेत्रको मनोबल बढाउनु जरुरी रहेको र कोशी प्रदेश सरकारले प्रदेश लगानी सम्मेलन, पर्यटन वर्ष २०८२ र चिया सम्मेलनको आयोजना गर्ने घोषणा गरिसकेको पृष्ठभूमिमा यस्ताक्रियाकलाप हुँदा लगानीकर्ता माझ गलत सन्देश जाने र लगानीकर्ताहरु निरुत्साहित हुने निश्चित भएको जनाइएको छ ।
विकासका प्रतिफलमा सम्वन्धित क्षेत्रका स्थानीयबासीको महत्वपुर्ण हिस्सा हुनुपर्ने मान्यतालाई यस आयोजनाले पनि स्वीकार गरेको पृष्ठभूमिमा स्थानीय, भाषा, कला, संस्कृति र सम्पदाको उचित संरक्षण र प्रवद्र्धन गर्ने तथा स्थानीय आर्थिक विकासमा महत्वपुर्ण योगदान हुने विषयमा अस्पष्टता रहेको भए वार्ता र सम्बादबाट त्यसको निरुपण गरी आयोजना निर्माणका कार्य तत्काल अघि बढ्ने वातावरण बनाउन संघीय सरकार, प्रदेश सरकार, स्थानीय सरकार र अन्दोलनरत पक्षसँग महासंघले अनुरोध गरेको छ ।