एमाले विराटनगरद्धारा वडा कमिटीमा देखिएको समस्या समाधानका लागि समिति गठन

विराटनगर ८ माघ । नेकपा एमाले विराटनगर महानगर कमिटीले वडा कमिटीमा देखिएको समस्या समाधानका लागि समिति गठन गरेको छ ।

पुस २९ गते बसेको पदाधिकारी बैठकले वडा नं. ३ लगायतका लामो समयदेखि निस्कृय रहेका शाखा (वडा) कमिटीहरुमा ३० दिन भित्रमा वडा अधिवेशन गर्ने गरि अधिवेशन आयोजक कमिटी गठन गरेको थियो ।

आयोजक कमिटी गठन गरिएका मध्ये वडा नं. ३ का केही सदस्यहरुले सदस्यहरुले सामुहिक राजीनामा दिएपछि आज बसेको सचिवालय बैठकले विवाद समस्या समाधानका लागि महानगर कमिटी अध्यक्ष रोहित कोइरालाको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको छ ।

समिति सदस्यहरुमा जिल्ला कमिटी सदस्य श्याम घिमिरे, महानगर कमिटी सचिव बलराम गिरी, प्रचार तथा प्रकाशन विभाग प्रमुख तथा प्रवक्ता राम पोखरेल, सचिवालय सदस्य पुष्प कटुवाल रहनु भएको छ । सचिवालय बैठकले नेकपा एमालेको जरा अभियान अन्र्तगत वडा लक्षित तथा नगरस्तरिय प्रशिक्षण कार्यक्रम गर्ने निर्णय गरेको प्रवक्ता पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार सचिवालय बैठकले पदाधिकारी बैठकका निर्णय अनुमोदन गरि माथिल्लो कमिटीमा पठाउने निर्णय गरेको छ ।

पुस २९ गतेको पदाधिकारी बैठकले ५५ सदस्यीय सचिवालय गठन, निस्कृय वडा कमिटीहरुमा सम्मेलन आयोजक कमिटी गठन लगायतका निर्णय गरेको थियो । सचिवालय बैठकमा एमाले स्थायी कमिटी सदस्य तथा कोशी प्रदेश इन्चार्ज शेरधन राई, केद्रीय सदस्य तथा मोरङ इन्चार्ज जीवन घिमिरे, प्रदेश कमिटी सचिवालय सदस्य तथा महानगर इन्चार्ज पर्शुराम बस्नेत, जिल्ला अध्यक्ष बाबुराम कार्की लगायतका नेताहरुको सहभागिता रहेको थियो ।