विराटनगर ६ माघ । प्रधानमन्त्री राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले विजयी सुरुआत गरेको छ । आइतबार भएको समूह ‘बी’ को पहिलो खेलमा कोशीले बागमती प्रदेशलाई पराजित गरेको हो ।
जितसँगै कोशीले दुई अंक जोडेको छ । धनगढीको कैलालीस्थित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा कोशीले बागमती प्रदेशमाथि १० रनको रोमाञ्चक जित हात पार्यो । कोशीले दिएको ६४ रनको लक्ष्य पछ्याएको बागमतीले १२.१ ओभरमा सबै विकेट गुमाउँदै ५३ रन मात्रै बनाउन सक्यो । बागमतीकी ओपनर सबिका यादवले सर्वाधिक २० रन बनाइन । २० बल खेलेकी उनले दुई चौका प्रहार गरिन । बिपशा शाही १२ रनमा अविजित रहिन ।
अन्यको ब्याटिङ सम्झनयोग्य रहेन । कोशीका ज्योति दनुवार, रुबिना क्षेत्री र संगिता राईले समान दुई विकेट लिए । निशा शाहको नाममा एक विकेट रह्यो । त्यसअघि ब्याटिङ थालेको कोशीले १३ ओभरमा ७ विकेट गुमाउँदै ६३ रन बनाएको थियो । खराब मौसमका कारण खेलको सात ओभर घटाइएको हो । कोशीकी विमला मलाहले अविजित रहँदै सर्वाधिक १९ रन बनाइन । २३ बल खेलेकी उनले दुई चौका प्रहार गरिन । ओपनर तथा कप्तान रुबिनाले १५ रन बनाउँदा अन्यको प्रदर्शन उल्लेख्य रहेन ।
बागमतीकी मनीषाले सर्वाधिक चार विकेट लिइन । तीन ओभर बलिङ गरेकी उनले एक मेडनसहित सात रन खर्चिइन्। पूजा साउद, बिपिशा र संस्कृति फूँयालको नाममा समान एक विकेट रह्यो ।त्यसअघि आजै सम्पन्न पहिलो खेलमा कोशी र विभागीय टोली त्रिभुवन आर्मी क्लबले मधेश प्रदेशलाई पराजित गरेको थियो ।