विराटनगर २ माघ । नेकपा एमाले विराटनगर महानगर कमिटीले लामो समयदेखि निस्कृय रहेका ५ वटा शाखा ( वडा) कमिटीमा अधिवेशन आयोजक कमिटी गठन गरेको छ ।
विराटनगर महानगर पदाधिकारी बैठकको पुस २९ गतेको बैठकले विगत लामो समय देखि विभिन्न कारणले निस्कृय रहेका शाखा (वडा कमिटी)हरु ३, ७ ९ १४ र १५ वडामा आयोजक कमिटी गठन गरेको हो ।
३० दिन भित्र वडा अधिवेशन गर्नेगरि वडा नं ३ मा रेशम थापामगरको संयोजकत्वमा ३४ सदस्यीय सम्मेलन आयोजक कमिटी गठन गरिएको छ ।
त्यसैगरि वडा नं. ७ मा प्रतापसिंह कार्कीको संयोजकत्वमा १६, वडा नं. ९ मा श्रीप्रकाश तोत्लाको संयोजकत्वमा १८, वडा नं. १४ मा सन्तोष दाहाल शर्माको संयोजकत्वमा १३ र वडा नं १५ मा प्रमोद केसीको संयोजकत्वमा १० सदस्यीय आयोजक कमिटी गठन गरिएको हो ।
एमाले विराटनगरले प्रवक्ताको जिम्मेवारी राम पोखरेललाई दिएको छ । सचिवालय सदस्यलाई पोखरेललाई महानगर कमिटीको प्रचार तथा प्रकाशन विभाग प्रमुख एवं प्रवक्ताको जिम्मेवारी दिईएको अध्यक्ष रोहित कोइरालाले जानकारी दिनुभयो ।
पदाधिकारी बैठकले ५५ सदस्यीय सचिवालय गठन गरेको छ । सचिवालयको पहिलो बैठक माघ ८ गते बस्ने अध्यक्ष कोइरालाले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकले महानगर कमिटीमा ५ जना सदस्य मनोनित गरेको छ ।
मनोनित सदस्यहरुमा प्रकाश सापकोटा, नरेश उप्रेती, शिवनारायण साह, उमेश गुरुङ र जागेश्वर सहनी रहनु भएको छ । पदाधिकारी बैठकले ३ सदस्यीय लेखा समिति गठन गरेको छ ।
लेखा समिति संयोजकमा उमेश गुरुङ, सदस्यहरुमा सुमित श्रेष्ठ र विनिता सुवेदी रहनु भएको प्रवक्ता राम पोखरेलले जानकारी दिनुभयो ।