विराटनगर, १३ जेठ । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी संगठन (अनेरास्ववियु)ले पेट्रोलियम पदार्थ र खाना पकाउने ग्याँसको मूल्यवृद्धि विरुद्ध संयुक्त विरोध प्रदर्शन गरेका छन् ।
नेपाल आयल निगमको प्रादेशिक कार्यालय विराटनगर अगाडी युवा संघ विराटनगर महानगर कमिटी र अनेरास्ववियु मोरङ जिल्ला कमिटी आबद्ध युवाहरुले बढ्दो मूल्यवृद्वि विरुद्ध प्रदर्शन गरेका हुन ।
अनेरास्ववियुका केन्द्रीय उप–महासचिव भास्कर खनालको अगुवाईमा भएको बिरोध कार्यक्रममा युवाहरुले ब्यानर, प्लेकार्ड बोकेर सरकार विरुद्ध नारा–जुलुस गर्दै निगमको प्रादेशिक कार्यालय अगाडी प्रदर्शन गरेका छन् ।
अनेरास्ववियु मोरङका सहसचिव नविन पहाडीले निगमले गरेको मूल्यवृद्विलाई केन्द्रीय सरकारले नियन्त्रण गर्न नचाहेर सर्वसाधारण जनताको ढाड सेक्न खोजेकोले आफुहरु प्रदर्शनमा उत्रनु परेको बताउनुभयो । उहाँले सरकारले मूल्यवृद्वि नियन्त्रण गर्न कदम नचालेसम्म आन्दोलन चर्कदै जाने बताउनुभयो ।
पहाडीले मूल्यवृद्वि विरुद्ध विराटनगरको मेनरोडमा खाली सिलिण्डरसहित प्रदर्शन र मसाल जुलुस गरिसकेको र सरकारले मूल्यवृद्वि रोकथाम गर्न ठोस कदम नचाले सम्म संयुक्त युवा–विद्यार्थीको आन्दोलन जारी रहने बताउनुभयो ।