विराटनगर, १८ पुस । मोरङको कटहरी गाँउपालिकाले एक महिने सीपमूलक तालिम दिएकाे छ ।
एक्सपट टेक्निकल कलेज नेपाल प्रालिको प्राविधिक सहयोगमा गाउँपालिकाले एसी, फ्रिज, मोटर र पंखा मर्मत सम्वन्धि तालिम आयोजना गरिएको हाे । सो तालिम लिएपछि सहभागि धेरैले स्थानीय रुपमा रोजगारी पाएको बताएका छन् ।
कटहरी गाँउपालिकाको करिब ४ लाख रुपैया लागतमा आयोजना गरिएको एक महिने तालिमका प्रशिक्षार्थीहरुलाई कटहरी गाँउपालिकाका अध्यक्ष देवराज चौधरीले एक कार्यक्रम बीच प्रमाणपत्र वितरण गर्नुभयो ।
समापन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष चौधरीले कटहरी गाँउपालिकाले सीप र दक्षता अभिवृद्धिको कार्यक्रमहरु संचालन गरेर स्थानीय युवाहरुलाई स्वरोजगार बनाउने अभियान चलाएको बताउनु भयो । उहाँले लोकसेवा आयोग, प्रहरी, सेना र सशस्त्र प्रहरीमा प्रतिस्पर्धा गर्न सक्ने गरी तालिम दिने कार्यक्रमहरु पनि आयोजना गरिरहेको जानकारी दिनुभयो ।
गत मंसिर १५ गते देखि पौष १५ गते सम्म आयोजना गरिएको सो तालिममा सो क्षेत्रका ४ जना महिला सहित ४० जनाले तालिम लिएका छन् ।