विराटनगर, १० पुस । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपाली पत्रकारिता स्वच्छ, मर्यादित एवं सशक्त हुनु पर्ने बताउनुभएको छ ।
नेपाल पत्रकार महासंघ मोरङ शाखाका कार्य समितिका नवनिर्वाचित पदाधिकारीहरुको प्रमाणपत्र वितरण तथा पदहस्तान्तरण समारोहलाई आज विराटनगरमा सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । मुख्यमन्त्री कार्कीले पत्रकारहरुको सामुहिक हक, हित र अधिकारको रक्षा गर्ने संस्था नेपाल पत्रकार महासंघको निर्वाचन खर्चिलो बन्न नहुने भन्दै सहमति, सहकार्य र एकताबाट असल नेतृत्व छनौट एकदमै उचित हुने धारणा राख्नुभयो । उहाँले विकास र समृद्धिको यात्रालाई पूरा गर्न पत्रकारिता क्षेत्र सत्य एवं तथ्यमा आधारित हुनु पर्छ भन्दै संविधानको सर्वाेच्चता, मानअधिकार, लोकतन्त्रका निम्ति नेपाली पत्रकारिता एकजुट भएर लाग्नु पर्ने विचार राख्नुभयो ।
मुख्यमन्त्री कार्कीले आगामी हिउँदे अधिवेशनमा सञ्चार प्रतिष्ठान विधेयक ल्याउने तयारीसँगै सरकारले थप विधेयक सदनमा ल्याउने जानकारी दिँदै पत्रकारहरुको वृत्ति विकासका लागि लेखन, अनुसन्धान र खोजमूलक सामग्रीमा लगानी गर्ने जानकारी दिनुभयो । उहाँले विधि र प्रक्रिया मिचेर प्रदेश सरकार कुनै पनि काम नगर्ने भन्दै प्रदेश सरकार आफै लगानी सम्मेलन गर्ने तयारी गरिरहेको बताउँदै लगानी सम्मेलनबाट कृषि, पर्यटन र उर्जाका क्षेत्रमा ५० औँ अर्ब भित्रिने अनुमान गरिएको कुरामा जोड दिनुभयो । मुख्यमन्त्री कार्कीले भन्नुभयो, ‘ प्रदेश सरकारले लागानी सम्मेलन पछि, पर्यटन वर्ष र अन्तर्राष्ट्रिय चिया सम्मेलन भव्यताका साथ सम्पन्न गर्न आवश्यक विधिकासाथ तयारी गरिरहेको छ ।’
कोशी प्रदेश सरकारले केही वर्ष पहिले नै पत्रकार उपचार कोषमा १० लाख जम्मा गरिसकेको जानकारी दिँदै चालु आर्थिक वर्षमा प्रदेशमा १७ दशमलव पाँच प्रतिशत आन्तरिक आय वृद्धि भएको जानकारी दिनुभयो ।
नेपाल पत्रकार महासंघ मोरङ निर्वाचन समितिका संयोजक दीपक दाहालको अध्यक्षतामा भएको सो कार्यक्रममा महासंघका कोशी प्रदेशका संस्थापक अध्यक्ष एवं मुख्यमन्त्री कार्कीका प्रेस सल्लाहकार विक्रम लुइँटेल, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य शंकर खरेल, कोशी प्रदेश अध्यक्ष लीलाबल्लभ घिमिरे, नेपाल पत्रकार महासंघ मोरङ शाखाका अध्यक्ष सुशिला पाठक, पूर्वअध्यक्ष मोहन भण्डारी, यज्ञ शर्मा, सल्लाहकार नवराज कट्टेल लगायतले नवनिर्वाचित पदाधिकारीहरुको कार्यकाल सफलताको शुभकामना दिनुभएको थियो ।