विराटनगर, ११ जेठ । विराटनगरको समृद्धि र विकासका लागि नवनिर्वाचित मेयर नागेश कोइरालालाई राप्रपा मोरङले सहयोग गर्ने भएको छ ।
कोइरालाले अघि सारेका एजेण्डाले विराटनगरवासीको विकास र समृद्धिको चाहना पूरा हुने निष्कर्षसहित राप्रपाले समर्थन गर्ने निर्णय गरेको जनाएको छ । राप्रपा मोरङ अध्यक्ष माधव आचार्यले विराटनगरको विकासका लागि कोइरालालाई समर्थनसँगै सहयोग गर्ने बताउनुभयो । “अब पाँच वर्षसम्मै राप्रपा मेयर नागेश कोइरालाको पक्षमा उभिन्छ,” अध्यक्ष आचार्यले भन्नुभयोे, “विरोध र असहयोगले भन्दा आपसी सहकार्य र एकताले मात्रै विराटनगरको विकास सम्भव छ । त्यसैले पाँच वर्षसम्म नै हाम्रो पार्टीको समर्थन कोइरालालाई रहनेछ ।”
राप्रपाको समर्थन र सहयोग आफूमा काम गर्ने थप ऊर्जा प्राप्त भएको मेयर कोइरालाले प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयोे, “हामी विराटनगर बनाउन आएका हौं, विराटनगरको विकासका सन्दर्भमा हामी सबैको एउटै एजेण्डा हुनुपर्छ । मलाई समर्थन गरेकोमा राप्रपालाई धन्यवाद ज्ञापन गर्छु ।”
वैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनमा राप्रपाले विराटनगरमा एउटा जितेको छ । विराटनगरका १९ वटामध्ये एमालेले ९, कांग्रेस ६, जसपाले २, स्वतन्त्र र राप्रपाले १–१ वडा जितेका छन् ।