पत्रकार महासंघको अध्यक्षमा पाँच जनाको उम्मेदवारी, आज दाबी विरोध

विराटनगर २२ मंसिर । नेपाल पत्रकार महासंघको निर्वाचनका लागि अध्यक्ष पदमा पाँच जनाको उम्मेदवारी दर्ता भएको छ ।

अध्यक्ष पदमा निर्मला शर्मा, रमेश विष्ट, कमल गिरी, देवीप्रसाद सापकोटा र लालसिंह (एल एस) लामाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । यसैगरी वरिष्ठ उपाध्यक्षमा दीपक आचार्य, दामोदरप्रसाद दवाडी, गोविन्दप्रसाद चौलागाईं र रोशन पुरीको उम्मेदवारी परेको छ ।

महिला उपाध्यक्षमा नितु पण्डित र गंगा पौडेल (बराल), समावेशी उपाध्यक्षमा उमिदप्रसाद बागचन्द, मोहनकुमार सिंह र सुभासप्रसाद साहको उम्मेदवारी परेको छ । महासंघको महासचिवमा रामप्रसाद दाहाल, प्रकाश थापा, लेखनाथ न्यौपाने र जन्मदेव जैसी गरी चार जनाको उम्मेदवारी परेको छ । यसैगरी खुला सचिवमा सात, महिला सचिवमा तीन, आदिवासी जनजाति सचिवमा तीन, मधेसी सचिवमा तीन, दलित सचिवमा चार, एशोसियट सचिवमा तीन र कोषाध्यक्षमा तीन जनाको उम्मेदवारी परेको निर्वाचन समितिका संयोजक चिरञ्जीवी खनालले बताए ।

उम्मेदवारका बारेमा शनिबार बिहान ११ बजेसम्म दाबी विरोध गर्न सकिने समितिले सार्वजनिक गरेको संशोधित निर्वाचन कार्यतालिकामा उल्लेख छ । महासंघको निर्वाचन मंसिर २८ गते हुँदैछ ।