०७९ मै अध्यक्ष हुन खोजेका थिए नमोनारायण

विराटनगर १७ मंसिर । नमोनारायण माझी ०७४ को स्थानीय तह निर्वाचनमा तत्कालिन फोरम लोकतान्त्रिकमा ग्रामथान गाउँपालिका १ को अध्यक्षमा निर्वाचित भए । वैदेशिक रोजगारीको छुट्टीमा आएका समयमा तत्कालिन फोरम लोकतान्त्रिका अध्यक्ष विजयकुमार गच्छदारसँग उनको भेटभयो । गच्छदारले चुनाव लड्न भनेपछि माझीले वैदेशिक रोजगारी छोडिदिए ।

२०५४ मा तत्कालिन लखन्तरी गाविसको अध्यक्ष भईसकेको अनुभव भएका उनलाई चुनाव लड्ने कुराले वैदेशिक रोजगारी विर्सिदिए । चुनावी अभियानमा लागे । ०७४ मा मोरङका १७ स्थानीय तहहरु मध्ये ग्रामथान, बुढीगंगा र कटहरीमा फोरम लोकतान्त्रिकको राम्रो प्रभाव थियो ।

ग्रामथानमा बहुमत बडाध्यक्षमा लोकतान्त्रिक विजयी भयो । अध्यक्षमा झिनो मतान्तरले लोकतान्त्रिकबाट उम्मेदवारी दिएका जयप्रकाश गच्छदार पराजित भए । बुढीगंगामा फोरम लोकतान्त्रिकले अध्यक्ष, उपाध्यक्ष दुवै जित्यो । फोरमको राम्रो प्रभाव भएका समयमा फोरम लोकतान्त्रिकबाट उम्मेदवारी दिँदा नजिता आफ्नो पक्षमा आउने उनले आँकलन पनि गरे ।

एक पटक अध्यक्ष भईसकेको र विद्यार्थी राजनीति राम्रो बुझेका उनले वडाध्यक्षमा अन्य वडाध्यक्षको तुलनामा राम्रो काम गर्ने मध्येका भित्र उनी पर्थे । एमालेले अध्यक्ष र एउटा वडाध्यक्ष मात्रै जितेकाले माझीलाई तत्कालिन गाउँपालिका अध्यक्ष शिवनारायण माझीले प्रवक्ताको पनि जिम्मेवारी दिएका थिए ।

वडाध्यक्षको कार्यकाल सकिनै लाग्दा उनले गाउँपालिकाको अध्यक्षको दावेदारका रुपमा आफुलाई अघि बढाए । वडाध्यक्षमा नदोहोरिने उनको निर्णय थियो । वडाको दावी उनले छाडेका कारण अरुले नै तयारी अघि बढाए । कांग्रेसमा धेरै आकांक्षी र फोरम लोकतान्त्रिकसँगको एकीकरणका कारण नेपाली कांग्रेसले माझीलाई अध्यक्षको रुपमा अघि नसार्ने तयारी गर्यो ।

कांग्रेसले ०७४ मा एमालेसँग पराजित गच्छदारलाई अध्यक्षको उम्मेदवार बनाउने निर्णयपछि उनी नेपाली कांग्रेसबाट अलग हुने निर्णय गरे । तर, उनले अध्यक्षमा स्वतन्त्रबाट उम्मेदवारी दिएनन् । तत्कालिन फोरमबाटै गच्छदारलाई उम्मेदवार बनाउने निर्णय पछि उनले बागी दिन तिर लागेनन् । उनी पुन : वडा नं. १ कै अध्यक्षमा उम्मेदवारी दिने निश्कर्षमा पुगे । उनी वडाध्यक्षको निर्वाचनमा तेश्रो भए ।

स्थानीय तहको निर्वाचनपछि उनी अन्य राजनीतिक दलमा प्रवेशको तयारीमा थिए । ०८१ असार ३ मा गच्दारको निधन पछि उनले उपनिर्वाचनमा अध्यक्षमा उम्मेदवारी दिने निर्णयमा पुगे । उनको चाहना बमोजिम नेकपा माओवादी केन्द्रले अध्यक्षको उम्मेदवार बनाउने शर्त सहित पार्टी प्रवेश गरायो । उनलाई माओवादीमा ल्याउन प्रतिनिधिसभा सदस्य तथा माओवादी केन्द्रका नेता अमनलाल मोदीको भूमिका बढी रह्यो । अध्यक्षमा जिताउन पनि मोदीनै क्रियाशिल रहे ।

अध्यक्षमा निर्वाचित भएपछि माझीले सबैसँग समन्वय गरेर विकास निर्माणको काम अघि बढाउने बताए । उनले पार्टी नहेरी सबैसँग समन्वय गरेर काम गर्ने प्रतिबद्धता जनाए । उनले भने,‘ ‘हिजो म पार्टीको नेता थिएँ । आज जनताको भएँ । जनप्रतिनिधि हुँ,’ उनले भने, ‘एमाले, कांग्रेस मतलब छैन । सबै मेरा लागि बराबर हुन् । समन्वय गरेर अघि बढ्छु ।’

पालिकाका अन्य उम्मेदवारसँग राम्रा एजेन्डामा समन्वय गरेर अघि बढ्ने प्रतिबद्धता जनाएका माझीले कसैलाई भेदभाव नगरी सबैलाई समान व्यवहार गर्ने बताए ।