विराटनगर १६ मंसिर । स्थानीय तह उपनिर्वाचनका लागि आज मतदान हुँदैछ । कोशी प्रदेशमा एक गाउँपालिका अध्यक्ष र ७ वडाध्यक्ष पदका लागि मतदान हुने छ । विहान ७ वजेदेखि साँझ ५ वजेसम्म मतदान हुने निर्वाचन आयोगले जनाएको छ ।
कोशी प्रदेशका एक अध्यक्ष सहित ८ पदका लागि ७१ जना उम्मेदवार प्रतिष्पर्धामा रहेका छन् ।
मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदमा एक स्वतन्त्र सहित १६ जना प्रतिष्पर्धामा रहेका छन् । अध्यक्ष पदका लागि नेकपा एमालेबाट तुलसीराम विश्वास, कांग्रेसबाट बलराम सरदार, माओवादी केन्द्रबाट नमोनारायण माझी, रास्वपाबाट नवीनकुमार विश्वास, राप्रपाबाट दिनेशकुमार थन्दार (दिवेश), अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)बाट धर्मेन्द्रकुमार चौधरी उम्मेदवार छन् ।
नागरिक उन्मुक्ति पार्टीबाट बुद्धिचन विश्वास, नेकपा (एकीकृत समाजवादी) पार्टीबाट दिलबहादुर विश्वकर्मा, उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट सुरेशकुमार राजवंशी, समावेशी समाजवादी पार्टी नेपालबाट बोधनारायण माझी, नेपाल मजदुर किसान पार्टी (नेमकिपा)बाट पर्शुराम विश्वास थारु, मंगोल नेशनल अर्गनाइजेसनबाट भरत राई, बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीबाट रामकुमार चौधरी, जनमत पार्टीबाट विनोदकुमार माझी, कमल थापा नेतृत्वको राप्रपा नेपालबाट राजु मुसहर र स्वतन्त्र उम्मेदवार नमनारायण चौधरी छन् ।
कोशी प्रदेशका ६ जिल्लाका ७ वडाध्यक्ष पदका लागि ५५ जना प्रतिष्पर्धामा रहेका छन् । ताप्लेजुङको सिरिजंघा गाउँपालिका ३ को वडाध्यक्ष पदका लागि ५ जना, झापाको कनकाई नगरपालिका ६ को वडाध्यक्ष पदका लागि ९ जना, तेहृथुमको लालीगुराँस नगरपालिका ८ को वडाध्यक्ष पदका लागि ७ जना, सुनसरीको गढी गाउँपालिका ६ को वडाध्यक्ष पदका लागि १२ जना, ओखलढुङ्गाको मोलुङ गाउँपालिका ५ को वडाध्यक्ष पदका लागि ६ जना, उदयपुरको त्रियुगा नगरपालिका १२ को वडाध्यक्ष पदका लागि ९ जना र बेलका नगरपालिका ९ को वडाध्यक्ष पदका लागि ७ जना प्रतिष्पर्धामा रहेको निर्वाचन आयोगले जनाएको छ ।
स्थानीय तह उपनिर्वाचनमा कोशी प्रदेशका २१ वटा मतदानस्थल र ४९ वटा मतदान केन्द्र निर्धारण गरिएको छ । निर्वाचनका लागि २ सय ९४ जना कर्मचारी खटाएकी प्रदेश निर्वाचन कार्यालय, विराटनगरले जनाएको छ ।
उपनिर्वाचनमा २१ हजार ५ सय ८४ जना पुरुष र २१ हजार ४ सय ५७ जना महिला गरी ४३ हजार ११ जना मतदाताले मतदान गर्ने प्रदेश निर्वाचन कार्यालय, विराटनगरका प्रमुख चोलाराज दङ्गालले बताउनु भयो ।