विराटनगर १४ मंसिर । स्थानीय तह उपनिर्वाचन २०८१ को तयारी अन्तिम चरणमा पुगेको छ । उपनिर्वाचन अन्तर्गत मतदान हुनुभन्दा ४८ घण्टाअघि मङ्सिर १३ गते बिहीबार मध्यरातिदेखि मौन अवधि सुरु भएको छ । निर्वाचन आयोगले मौन अवधिमा कुनै उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न तथा मतदानका लागि नकारात्मक प्रभाव पार्ने गतिविधि गर्न रोक लगाएको छ ।
आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले मतदान केन्द्र (बुथ) बनाउने कार्यबाहेक मतदानका लागि सबै तयारी पूरा भएको जानकारी दिनुभयो । मङ्सिर १६ गते आइतबार सात वटै प्रदेश अन्तर्गतका ३१ जिल्लाका ४१ पदमा मतदान हुँदै छ । दुई जिल्ला समन्वय समितिका प्रमुखसहित एक वडाध्यक्ष निर्विरोध निर्वाचित भएका छन् ।
उपनिर्वाचनमा कुल दुई लाख २६ हजार ७९९ मतदाता छन् । एक लाख १४ हजार नौ सय पुरुष र एक लाख ११ हजार ८९६ मतदाता महिला छन् । निर्वाचन आयोगका अनुसार १६२ मतदान स्थलका लागि २९३ वटा मतदान केन्द्र तोकिएका छन् ।
आयोगका प्रवक्ता अर्यालले प्रत्येक मतदान केन्द्रमा एकरएक जना मतदान अधिकृत र सहायक मतदान अधिकृत, दुई जना सहायक कर्मचारी, सहयोगी र स्वयंसेवक एकरएक गरी छ जना नियुक्त गरिएको जानकारी दिनुभयो । सोबमोजिम २९३ केन्द्रमा कुल एक हजार ७५८ कर्मचारी परिचालन हुने छन् ।
आयोगले निर्वाचन हुने दिन सार्वजनिक सवारीसाधनको उचित व्यवस्था गर्न तथा निर्वाचन हुने स्थानीय तहका कर्मचारी नेपाल सरकारमातहातको जुनसुकै कार्यालयमा कार्यरत भए पनि सो दिन बिदाको व्यवस्था मिलाएर कर्मचारीलाई मतदान गर्ने वातावरण बनाइदिन आग्रह गरेको छ ।