विराटनगर १२ मंसिर । मोरङको ग्रामथानमा आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि सडकमा राखिएका भड्किला प्रचार सामग्री हटाउन निर्वाचन कार्यालयले आग्रह गरेको छ ।
मुख्यनिर्वाचन अधिकृतको कार्यालयले आज ग्रामथानमा आचारसंहिताबारे आयोजना गरेको सर्वदलिय बैठकमा मुख्य निर्वाचन अधिकृत उद्धवप्रसाद भट्टराईले आचारसंहिता विपरितका तुल व्यानरहरु हटाउन आग्रह गर्नुभयो । उहाँले निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउनका लागि आचारसंहिता पालना गरिदिन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो,‘ निर्वाचन कार्यालयमा अहिले सम्म कसैको पनि उजुरी परेको छैन । अबका बाँकी दिनहरुमा पनि उजुरी नपर्ने गरिका काम गर्न आग्रह गर्दछु ।’
मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले ग्रामथानमा हालसम्म अवस्था शान्तिपूर्ण रहेको बताउनुभयो । उहाँले निर्वाचनका लागि आवस्यक सुरक्षा प्रवन्ध मिलाईसकिएको बताउनुभयो । उहाँले भन्नुभयो,‘ निर्वाचनको प्रचारप्रसारका क्रममा आचारसंहिता विपरितका भड्किला चिजहरुलाई आफै व्यवस्थित गर्न आग्रह छ ।’ सडकमा राखिएका प्रचारप्रसारका सामाग्रीहरु सुरक्षाकर्मी लगाएर हटाउनु भन्दा पनि राजनीतिक दलहरु आफैले गर्दा सन्देश राम्रो जाने उहाँले बताउनुभयो ।
मोरङ प्रहरीका प्रमुख एसपी नारायणप्रसाद चिमरियाले निर्वाचनका लागि आवस्यक सुरक्षा प्रवन्ध मिलाईसकिएको बताउनुभयो । निर्वाचनमा सहभागि राजनीतिक दल र स्वतन्त्र उम्मेदवारका प्रमुख तथा प्रतिनिधिहरुले भड्किला प्रचार सामग्री हटाउने प्रतिबद्धता जनाएका थिए ।
प्रदेश निर्वाचन कार्यालयका प्रमुख चोलाराज दंगालले निर्वाचनका लागि आवस्यक सामग्रीहरु विहीबारदेखि मतदान केन्द्रहरुमा पठाईने बताउनुभयो । ग्रामथानका १२ मतदान स्थलका २९ मतदान केन्द्रका मतदान अधिकृत र सहायक मतदान अधिकृतको अभिमुखीकरण सकिएकाले भोलीदेखि मतपत्र, मतपेटिक लगायतका सामाग्रीहरु मतदान केन्द्रमा पुग्ने बताउनुभयो ।
ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका लागि मंसिर १६ गते विहान ७ देखि साँझ ५ वजे सम्म मतदान हुँदैछ । निर्वाचनमा राजनीतिक दलका १५ र एक स्वतन्त्र गरि १६ जना प्रतिष्पर्धामा छन् । उपनिर्वाचनका लागि ग्रामथानमा २६ हजार ४४ जना मतदाता छन् ।