विराटनगर ११ मंसिर । आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि निर्वाचन सामाग्री प्रदेश निर्वाचन कार्यालय विराटनगरमा आईपुगेको छ ।
मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका लागि हुने निर्वाचनका लागि निर्वाचन सामाग्री आईपुगेको प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी तिर्थराज अधिकारीले जानकारी दिनुभयो । निर्वाचन प्रयोजनका लागि आवस्यक पर्ने मतपत्र र मतपेटिकालगायत आवस्यक सम्पूर्ण सामग्री निर्वाचन कार्यालयमा आईपुगेको उहाँले बताउनुभयो ।
उपनिर्वाचनका लागि ग्रामथानमा २६ हजार ४४ मतदाता छन् । सात वडामा विभाजित यो गाउँपालिकाकामा १२ वटा मतदान स्थल र २९ वटा मतदान केन्द्र रहेको प्रदेश निर्वाचन कार्यालय विराटनगरका प्रमुख चोलाराज दंगालले जानकारी दिनुभयो । उहाँका अनुशार बुधबार मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई अभिमुखीकरण छ । विहीबार मतदान केन्द्रमा मतपत्र र मतपेटिकालगायत आवस्यक सम्पूर्ण सामग्री पुर्याईने उहाँले बताउनुभयो ।
ग्रामथानको अध्यक्ष पदमा राजनीतिक दलका १५ र स्वतन्त्र १ जना चुनावी प्रतिष्पर्धामा छन् ।