कोशीका पूर्व मन्त्री अधिकारीविरुद्ध मुद्दा चलाउनलाई पर्याप्त आधार, प्रमाण देखिएन

विराटनगर १० मंसिर । मानव तस्करीको आरोप लागेका कोशी प्रदेशका तत्कालीन आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीविरुद्ध मुद्दा नचल्ने भएको छ । मानव तस्करीको आरोपमा उनी पक्राउ परेका थिए ।

सरकारी वकिल कार्यालयले उनीविरुद्ध मुद्दा नचल्ने निर्णय गरेको हो । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले मुद्दा चलाउनलाई पर्याप्त आधार र प्रमाण नदेखिएको भन्दै अधिकारीविरुद्ध मुद्दा नचलाउने निर्णय गरेको छ ।

काठमाडौंका जिल्ला न्यायाधीवक्ता सीताराम अर्यालले अधिकारीलाई मुद्दा नचलाउने निर्णय भएको जानकारी दिनुभयो । यही मुद्दामा प्रतिबादी बनाइएका अन्य ११ जनाविरुद्ध भने मुद्दा चल्ने भएको छ । प्रहरीले अनुसन्धान सकेर मिसिल (अनुसन्धान प्रतिवेदन) बुझाएपछि सरकारी वकिल कार्यालयले अभियोगपत्र तयार पार्दै अभियुक्तविरुद्ध सोमबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । अर्यालका अनुसार ११ जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरिएको हो ।

मुद्दामा जनक राई, दावा शेर्पा, कञ्चन देवकोटा, महेश पाण्डे, जुगल रिजाल, वीरबहादुर सुनुवार, गुडी राई, नवीन राई, दिवाकरबाबु भट्टराई, विष्णुप्रसाद भट्टराई र योगराज गौतमलाई प्रतिवादी बनाइएको छ । अभियुक्तमध्ये ३ जना अझैसम्म फरार छन् ।

जिल्ला न्यायाधिवक्ता सीताराम अर्यालले अधिकारीविरुद्ध मुद्दा चलाउनलाई पर्याप्त आधार, प्रमाण नदेखिएको बताउनुभयो । बाँकी ११ जनाविरुद्ध भने जिल्ला अदालत, काठमाडौंमा मुद्दा दर्ता गरिएको उहाँले जानकारी दिनुभयो ।