विराटनगर ७ मंसिर । पछिल्लो समय सहकारीमा देखिएको समस्या सहकारी ऐनको पूर्ण कार्यान्वयन नहुँदाको परिणाम भएको सरोकारवालाहरुले बताएका छन् ।
ऐनमा गरिएको व्यवस्था अनुशार सहकारी सञ्चालन गरिए कुनै समस्या नहुने उनीहरुको भनाई छ । संवाद समूह कोशी प्रदेशले आज विराटनगरमा आयोजना गरेको सहकारी नीति संवादमा सहभागि सरोकारवालाहरुले ऐन कार्यान्वयनमा जोड दिएका छन् ।
प्रदेश सहकारी संघ कोशी प्रदेशका अध्यक्ष डा. डिल्ली पोखरेलले सहकारी ऐन पूर्ण कार्यान्वयन गरिए समस्या नहुने बताउनुभयो । ऐन कार्यान्वयन नगर्दा समस्या भएको उहाँले बताउनुभयो । सहकारीमा अहिले देखिएको समस्या सहकारी ऐन अनुशार नचलेका कारण भएको उहाँको भनाई छ । अध्यक्ष डा. पोखरेलले समस्या देखिएका सहकारीमा पनि शहर केन्द्रीतमा समस्या रहेको बताउनुभयो । सहकारीहरु सहकारीको मर्म अनुशार नचल्दा पनि समस्या आएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो ,‘ सहकारीको कार्यक्षेत्र कति हुने ? धेरैतिर शाखा खोल्दा पनि समस्या भयो ।’ ऐनको प्रावधान अनुशार चले समस्या नहुने उहाँको भनाई छ ।
मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले सहकारीहरुले ऐनमा भएको व्यवस्था अनुशार कोष नराखेको पाईएको बताउनुभयो । सहकारीले ऐनमा भएको व्यवस्था अनुशार कोष राखे बचतको २५ प्रतिशत कोषमा रहने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,‘ समस्याग्रस्त सहकारीले कोष नराख्दा समस्या भयो ।’ उहाँले सहकारी ठगीमा कारवाही गर्न पनि आवस्यक कानूनको अभाव रहेको बताउनुभयो ।
उद्योग कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. शरणकुमार पाण्डेले सहकारी ऐन अनुार नचलेका सहकारीमा समस्या देखिएको बताउनुभयो । सहकारीहरु आफु अनुशासनमा नबस्दा पनि समस्या देखिएको उहाँले बताउनुभयो ।
कोशी प्रदेश प्रहरी कार्यालयका एसएसपी भीम दाहालले सहकारीहरु पूर्णरुपमा समस्याग्रस्त बनेपछि मात्रै प्रहरी समक्ष आईपुग्ने गरेको गुनासो गर्नुभयो । शुरुमै आउँदा समस्या समाधानमा पनि सहज हुने उहाँको भनाई छ । उहाँले भन्नुभयो,‘ सहकारीहरु आईसीयुको अवस्थामा पुगेपछि मात्रै प्रहरीलाई जानकारी हुन्छ ।’ नियतवश शुरु गरिएको सहकारीमा समस्या देखिएको उहाँले बताउनुभयो । सहकारीको समस्या समाधानका लागि आर्थिक अनुसन्धान व्युरो आवस्यक भएको उहाँले बताउनुभयो ।
अधिवक्ता रुक्मिणा दाहालले सहकारीको ऐन कार्यान्वयन पक्ष फितलो रहेको बताउनुभयो । उहाँले सहकारीलाई व्यापारिक रुप दिन थालेपछि कानुनको पनि अभाव देखिएको बताउनुभयो ।
सुनसरीको धरान उपमहानगरपालिकाका उपप्रमुख आईन्द्रविक्रम बेघाले ऋण असुलीका लागि कानुनी व्यवस्था जटिल रहेको बताउनुभयो । झापाको विर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले नगरपालिकाको विज्ञता विनाका कर्मचारी, व्यवस्थापक हुँदा पनि सहकारीमा समस्या देखिएको बताउनुभयो ।
नीति संवाद कार्यक्रममा सहकारीका समस्या, चुनौति र समाधानका विषयमा सहकारी नीति संवाद कार्यक्रम गरिएको थियो । कार्यक्रममा प्रदेश सांसद, स्थानीय तहका प्रमुखहरु, स्थानीय तहका सहकारीका प्रमुखहरु, विभिन्न सहकारी संघ संस्थाका प्रमुख, प्रतिनिधिहरु लगायतको कार्यक्रममा सहभागिता रहेको थियो ।
संवाद समूहले सहकारीका समस्या, चुनौति र समाधानका लागि गत वर्षको फागुनमा विराटनगर, गत असारमा सुनसरीको इटहरी र असोजमा झापाको विर्तामोडमा सहकारी नीति संवाद कार्यक्रम गरेको थियो ।