विराटनगरको मेयरमा कांग्रेसका कोइराला र उपमेयरमा एमालेकी कार्की निर्वाचित

विराटनगर, ७ जेठ । विराटनगर महानगरपालिकाको मेयरमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार नागेश कोइराला निर्वाचित भएका छन् । कोइरालाले ३० हजार १ सय ७० मत ल्याए ।

एमालेका उम्मेदवार सागर थापालाई ८ हजार ७ सय १५ मत अन्तरले पराजित गर्दै उनी निर्वाचित भएका हुन । थापाले २१ हजार ४५५मत ल्याए

राप्रपाका प्रल्हादप्रसाद साहले ५ हजार २ सय १६ मत ल्याएका छन् भने स्वतन्त्र उमेश यादवले ८ हजार ९सय ९५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
विराटनगरको उपमेयरमा शिल्पा निराला कार्की विजयी बनेकी छिन । गठबन्धन तर्फका उम्मेदवारलाई पछि पार्दै उनले जितेकी हुन ।

शिल्पाले २५ हजार ६ सय ८० मत ल्याउँदा जसपाका अरमेन्द्र यादवले १४ हजार २ सय १९ मत मात्रै ल्याए ।
राप्रपाकी बिन्दा आचार्य लुईटेलले भने ६ हजार ४ सय १ मा प्राप्त गरेकी छिन । स्वतन्त्र उम्मेदवार नमिता न्यौपानेले ५ हजार १ सय १७ मत ल्याएकी छिन ।

एमालेले वडा नम्वर १, २, ३, ४, ८, १०, ११, १४, १९, कांग्रेस ५, ६, ७, ९, १५, १६, जसपा जसपा १२, १७, राप्रपा १३ र स्वतन्त्र उम्मेवार वडा नम्वर १८ मा निर्वाचित भएका छन् ।


वैशाख ३० गते सम्पन्न निर्वाचनमा विराटनगर ८९ हजार ७८९ मत खसेको थियो । १ लाख ३३ हजार मतदाता रहेको मध्ये ६७ दशमलव ४४ मत खसेको निर्वाचन आयोगले बताएको छ ।