फाल्गुनन्दको मार्गदर्शनले राष्ट्रिय एकतालाई सुदृढ बनाउन सकिन्छ : मुख्यमन्त्री कार्की

विराटनगर २५ कात्तिक  । महागुरु फाल्गुनन्दको उपदेश र मार्गदर्शनलाई पालन गरे धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबिच सहिष्णुता र सद्भाव कायम गर्न सकिने कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताउनुभएको छ ।

आज किराँत धर्मका महागुरु फाल्गुनन्दको १ सय ४० औँ जन्मजयन्तीका अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै मुख्यमन्त्री कार्कीले अहिंसावादी, सत्य वचन र धर्मकर्ममा निष्ठावान समाजसुधारक महागुरु फाल्गुनन्दले देखाउनु भएको सत्मार्गको पालनमा जोड दिनुभएको हो ।

मुख्यमन्त्री कार्कीले भन्नुभयो -‘जीवनको अन्तिम अवस्थासम्म भाषा, लिपी, संस्कार संस्कृति, शिक्षा र समाज सुधारका साथै किराँत धर्मको उत्थान तथा संरक्षणको निम्ति लागिरहने प्रेम र अहिंसाका प्रतिक फाल्गुनन्दको मार्गदर्शनले राष्ट्रिय एकतालाई सुदृढ बनाउन सकिन्छ ।

‘मुख्यमन्त्री कार्कीले संवाद, सहकार्य र सहअस्तित्वका आधारमा अघि बढेर मुलुकलाइ अगाडि बढाउन सकिनेमा जोड दिनुभएको छ । भिडियो सन्देश समेत जारी गर्दै मुख्यमन्त्री कार्कीले महागुरु फागुनन्दको योगदानको चर्चा गर्नुभएको छ ।

राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको विस १९४२ सालमा कोशी प्रदेशको इलाममा जन्म भएको थियो ।

फाल्गुनन्दलाई नेपाल सरकारले २०६६ साल मंसिर १६ गते राष्ट्रिय विभूति घोषणा गरेको हो । कोशी प्रदेश सरकारले उहाँको जन्मजयन्तीको दिनमा सार्बजनिक बिदा समेत दिदै आएको छ ।