विराटनगरको मत बढी बदर

विराटनगर, २ जेठ । विराटनगर महानगरपालिकामा १६ हजार ३ सय ४३ मत गणना गर्दा मेयर– उपमेयरमा १२ हजार भन्दा बढी मत बदर भएको छ ।

आज दिउँसोसम्म १६ हजार ३ सय ४३ मत गणना गर्दा मेयरमा ५१४६ र उपमेयरमा ७२११ मत बदर भएको छ । मेयर उपमेयर दुवै पदको बदर मत जोड्दा १२३५७ हुन्छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार बदर भएको अधिकांश मत दलका उम्मेदवार नभएको चुनाव चिन्हमा परेका थिए । ‘उम्मेदवार नभएको पदमा परेको मत स्वत बदर हुन्छ,’ उहाँले भन्नु भयो ,‘ मेयर–उपमेयर पदमा धेरै मत बदर भएका छन् ।’ उहाँका अनुसार पूर्ण बदर (सबै उम्मेदवारको) मत संख्या भने कम छ । १६ हजार ३ सय ४३ मत गणना गर्दा विराटनगरको मेयरमा कांग्रेस उम्मेदवार नागेश कोइरालाले ५ हजार १ सय ८३, एमाले उम्मेदवार सागर थापाले ३ हजार ६ सय ६७, स्वतन्त्र उम्मेदवार उमेश यादवले १ हजार ७ सय २० र राप्रपा उम्मेदवार प्रल्हाद साहले ८३२ मत प्राप्त गर्नु भएको थियो ।

उपमेयरमा एमाले उम्मेदवार शिल्पा कार्कीले ४ हजार १ सय ८२, जसपा उम्मेदवार अमरेन्द्र यादवले ३ हजार ८३, स्वतन्त्र उम्मेदवार नमिता न्यौपानेले ९२२ मत प्राप्त गर्नु भएको छ । मेयर उपमेयरमा बदर मत बढी भएपनि वडा अध्यक्षको बदर मत तुलनात्मक रुपमा कम छ ।

सूचना अधिकारी बुढाथोकीका अनुसार मतगणना सकिएका १६, १७, १८ र १९, नम्बर वडा अध्यक्षको मत कम बदर भएको हो ।