चाडपर्वहरुले नेपाली समाजको सहिष्णुता र एकतालाई प्रर्वद्धन गर्छ : मुख्यमन्त्री कार्की

विराटनगर १७ कात्तिक । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले चाडपर्वहरुले नेपाली समाजको सहिष्णुता र एकतालाई प्रर्वद्धन गर्ने बताउनुभएको छ ।

आज नेपाल सम्बत् ११४५ को शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री कार्कीले चाडपर्व र असल परम्पराले आदिकालदेखि नै सहिष्णु तथा सभ्य रहेको हाम्रो समाजको एकतालाई थप सुदृढ बनाउँदै लगेको उल्लेख गर्नुभएको हो ।

लिच्छवी राजा राधवदेवको पालामा १४४५ वर्ष अघि राष्ट्रिय विभुति शंखधर साख्वाःले काठमाडौं उपत्यकाका किसानको ऋण मोचन गरी नेपाल सम्बत् चलनमा ल्याएको उल्लेख गर्दै उहाँले यो कार्यले लोककल्याण एवं समाजको हित, उन्नती र प्रगतिका लागि क्रियाशिल रहन सबैलाई प्रेरणा मिल्ने समेत विश्वास व्यक्त गर्नुभएको छ ।

नेपाल सम्बत् नेपालको मौलिक सम्बत् रहेको बताउँदै मुख्यमन्त्री कार्कीले नयाँ वर्षले सद्भाव, सहिष्णुता र र बन्धुत्वको भावना वृद्धि हुने विश्वास व्यक्त गर्नुभएको छ ।

कार्तिक कृष्ण प्रतिपदा तिथी अर्थात लक्ष्मीपुजाको भोलिपल्टबाट नेपाल सम्बत् सुरु हुन्छ । आज विषेश गरी नेवार समुदायले नेपाल सम्बत्लाई धुमधामले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् ।

काठमाडौं उपत्यकाभित्र नेवार समुदायले नयाँ वर्षसँगै लक्ष्मीपूजाको दिन पुरानो बहिखाता बन्द गरी आजबाट नयाँ बहिखाता सुरु गर्ने गरेका छन् ।