विराटनगरको जोगवनी नाका आज रातिदेखि शील गरिँदै

विराटनगर, २७ वैशाख । स्थानीय निर्वाचनलाई लक्षित गरेर भारतको जोगवनी हुँदै प्रदेश १ को राजधानी विराटनगर प्रवेश गर्ने मुख्य नाका आज रातिदेखि शील गरिँदै छ ।

मुख्यबाहेक अन्य नाका राति १२ बजेपछि शील गरिने छ । नेपाल–भारत सीमा क्षेत्रका सबै नाका शील गरेर मानिस तथा सवारीसाधन आवतजावतमा पूर्ण रूपमा रोक लगाइने प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताउनु भयो । उहाँका अनुसार स्थानीय तह निर्वाचनलाई लक्षित गरेर ७२ घण्टाका लागि नाका शील गर्न लागिएको हो । नेपाल र भारतका सुरक्षा अधिकारीको संयुक्त बैठकले यसअघि नै नाका शील गर्ने निर्णय लिइसकेको छ ।

नाका बन्द रहेको अवस्थामा एम्बुलेन्स, बारुणयन्त्र, पेट्रोलिय ढुवानीका साधन, शववहान लगायत अतिआवश्यकीय सेवालाई भने समन्वय गरेर सुचारु राखिने जानकारी दाहालले दिनु भयो । मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले निर्वाचनलाई लक्षित गरेर सीमा क्षेत्रमा विशेष ढङ्गले सुरक्षा उपस्थिति बढाइएको जानकारी दिनु भयो ।

‘नाका शील भएको अवस्थामा हुनसक्ने विभिन्न खालका अवैध गतिविधि नियन्त्रणमा लिन सीमा क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ,’ उहाँले भन्नु भयो, ‘सशस्त्र प्रहरी लगायतका अन्य सुरक्षा निकायसँग पनि समन्वय गरेर काम गरिने छ ।’