सरकारले नै खुलमखुल्ला भ्रष्टाचारीको संरक्षण गर्यो : पूर्व प्रधानमन्त्री भट्टराई

विराटनगर ५ कात्तिक । नेपाल समजावादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सरकारले नै खुलमखुल्ला भ्रष्टाचारीको संरक्षण गरिरहेको आरोप लगाउनु भएको छ । आफूले भ्रष्टाचार गर्दिनँ भन्ने व्यक्तिहरूले नै ठूलठूला भ्रष्टाचार गर्ने र एउटा भ्रष्टाचारको बाहनामा अर्काे व्यक्तिलाई थुन्ने प्रवृत्ति देखिएको उहाँको भनाइ छ ।

पोखरामा सोमबारदेखि सुरू भएको पार्टीको विधान अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष भट्टराईले भ्रष्टाचार नियन्त्रण गर्न संस्थाहरू आर्थिकरुपमा बलियो हुनुपर्ने बताउनुभयो । ‘मुखले भ्रष्टाचार गर्दिनँ भन्ने व्यवहारमा चाँहि आफैँ खुलमखुल्ला भ्रष्टाचारीको संरक्षण गर्ने प्रवृत्ति देखिन्छ । फरक पार्टीको पर्यो भने समातेर भ्रष्टाचारको मुद्दा लगाउने, आफ्नो पर्यो भने सिंगो पार्टीकै बल प्रयोग गरेर जोगाउने ? यसरी कसरी सुशासन कायम हुन्छ ? भट्टराईले प्रश्न गर्दै भन्नुभयो । उनले सहकारी, ओम्नी, भुटानी शरणर्थी, सुन, वाइडबढी लगायत काण्डमा सबै प्रमुख दलहरू अछुतो नरहेको आरोप लगाए ।

भ्रष्टाचार छानविनको लागि शक्तिशाली संस्था गठन गर्न आवश्यक रहेको उहाँको भनाइ छ । आफू देशको प्रधानमन्त्री भइसक्दा पनि कुनै काण्ड नमुछिएको र राम्रो गर्न खोज्दा किनारा पर्दै गएको उहाँले गुनासो गर्नुभयोे । ‘म कुनै पनि काण्डमा मुछिएको छैन,’ उहाँले भन्नुभयोे, ‘सबैभन्दा पहिला म बाट नै छानविन सुरु होस् । तर सबै राजनीतिक नेताहरूको सम्पत्ति छानबिन हुनुपर्छ । राजनीतिक नतृत्वमा भएका कारण भ्रष्टाचारबाट मुक्ति पाउनुहुदैन ।’ विधान अधिवेशनले पार्टीको विधानमा संशोधन र सुधारसहित नयाँ दस्तावेज तयार गर्ने उनले बताउनुभयो । अधिवेशनमा ४ सय जना प्रतिनिधिहरू सहभागी छन् ।