विराटनगर ३ कात्तिक । सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ गरिएका पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिलाई जिल्ला प्रहरी कार्यालय कास्कीलाई जिम्मा लगाइएको छ ।
लामिछानेलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगेर स्वास्थ्य परीक्षण गरी जिल्ला प्रहरी कार्यालय कास्की पुर्याइएको थियो । राती करिब पानै ३ वजे कार्यालय प्रवेश गराइएको बताईएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले शुक्रबार साँझ काठमाडौंमा पक्राउ गरी राती नै स्थलमार्गबाट उनलाई पोखरा लगेको हो ।
लामिछानेलाई त्यहाँ पुर्याउँदा कास्की प्रहरी कार्यालयको अघि रास्वपाका उपाध्यक्ष स्वर्णिम वाग्ले र केही कार्यकर्ताहरू उपस्थित थिए । अर्का उपाध्यक्ष डीपी अर्याल र पत्नी निकिता पौडेलचाहिँ लामिछानेसँग स्थलमार्गबाट गएका थिए । कास्की प्रहरीले जिम्मा लिएपछि हिरासतमा पुगेर वाग्ले, अर्याल र पौडेलले लामिछानेलाई भेटेका थिए ।
लामिछानेमाथि सूर्यदर्शन लगायतका सहकारी ठगीको आरोप छ । उनलाई संसदीय छानबिन विशेष समितिले समेत सहकारी बचत अपचलन गरेको निष्कर्ष निकाल्दै अनुसन्धान गर्न सिफारिस गरेको थियो ।
सहकारी पीडितहरुले २२ माघ २०८० मा सभापति लामिछाने सहित १८ जना विरुद्ध कास्की प्रहरीमा फेरि पूरक जाहेरी दिएका थिए । सहकारीको रकम ग्यालेक्सी टीभीमा लगेर अपचलन गरेको खुलेपछि उनीहरुले लामिछाने सहितलाई प्रतिवादी बनाएर अनुसन्धान गर्न भन्दै प्रहरीमा जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय कास्कीका एक अधिकृतले बताए ।