विराटनगर ९ असोज । विराटनगर महानगरपालिका–२ मुनालपथस्थित भब्या इन्टरनेशनलमा लागेको आगो नियन्त्रणमा आएको छ ।
विराटनगर महानगरपालिकाबाट गएको ३ वटा दमकलको सहयोगमा स्थानीय र प्रहरीले आगो नियन्त्रणमा लिएका हुन् । दिउँसो २ बजेतिर लागेको आगो ३ः४५ बजेतिर नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । इलेक्ट्रिक साइकल र सीटी सफारी बिक्री गरिने पसलमा आगलागी हुनुको कारण खुलेको छैन । मनिष वंशलले संचालन गर्दै आएको उक्त पसलबाट बिजुलीले चल्ने साइकल तथा सफारी बिक्री गरिँदै आएको थियो । आगोले पसल पूर्णरूपले जलेको छ । क्षतिको विवरण आइसकेको छैन ।
क्षतिको विवरण संकलनको काम भइरहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताउनुभयो । आगोले बिजुलीको पोलमा टाँगिएका केवल, इन्टरनेटलगायतका तारहरु पनि जलेका छन् । ब्याट्री पड्किएर आगो लागेको हुनसक्ने प्रहरीको अनुमान छ ।
आगलागी सुरु भएको करिब १ घण्टासम्म पनि दमकल नआइपुगेको भन्दै स्थानीय आक्रोसित बनेका थिए । विराटनगर महानगरपालिकाको दमकललाई घटनास्थल पुग्न नै करिब १ घण्टा लागेको स्थानीय बताउँछन् । यसैबीच, राजमार्गसँगै जोडिएको पसलमा आगलागी भएपछि सवारीसाधन संचालनमा समस्या भएको थियो ।
राजमार्गको पूवतर्फ रहेको पसलमा आगो लागेको हो । जसका कारण पूर्वतर्फको लेनमा सवारीसाधन संचालन हुन सकेनन् । घटनास्थलमा खटिएका ट्राफिक प्रहरीले ‘डाइभर्ट’ गरेर पश्चिमतर्फको लेनबाट सवारीसाधन संचालनमा सहजीकरण गरेका थिए ।