कृत्रिम गर्भधारण प्रविधि उपयुक्त भएपनि कानुनी झंझटका कारण प्रभावकारी हुन सकेन

विराटनगर, ७ असोज । एक कार्यक्रमका सहभागिहरुले कृत्रिम गर्भधारण प्रविधि उपयुक्त भएपनि कानुनी झंझटका कारण यसको प्रयोग प्रभावकारी नभईरहेको बताएका छन् ।

एकल होस् वा दम्पत्ति, कृत्रिम गर्भधारणमा सबैको समान पहुँचको अधिकार भन्ने नारा सहित विराटनगरमा आयोजना गरिएको यौन तथा प्रजनन स्वास्थ्य मेलामा निसन्तान दम्पत्तिहरुले संविधानले दिएको महिलाको प्रजनन स्वास्थ्य अधिकारको उपभोग गर्न नपाएको सरोकारवालाहरुले गुनासो गरेका छन् ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै कोशी प्रदेशकी उपसभामुख सिर्जना दनुवारले महिलाहरुले संविधानले दिएको अधिकार अझै नपाईरहेको बेला संघिय र प्रदेश सरकारले आवश्यक कानुन ल्याउनुपर्ने बताइन । उनले महिलाको प्रजनन स्वास्थ्य अधिकार प्राप्तिका लागि पुरुषहरुको पनि सहयोग लिनुपर्ने बताइन ।

सोमबार विराटनगरमा ओरेकले आयोजना गरेको सो दुई दिने यौन तथा प्रजनन स्वास्थ्य मेलामा प्रदेश सांसदहरु, पालिकाका प्रतिनिधि र महिला अधिकारकर्र्मीहरुको सहभागिता रहेको छ ।

दुइदिन सम्म संचालन हुने सो कार्यक्रममा यौन तथा प्रजनन स्वास्थ्य अधिकारका लागि चाहिने कानुन, स्वास्थ्यमा पर्ने असर र महिला अधिकार बारे छलफल गरिने बताइएको छ ।