पराजित हुने भएपछि काँग्रेस प्रोपोगाण्डामा उत्रियो– एमाले


विराटनगर, २४ वैशाख । मोरङको रङ्गेलीमा निर्वाचन जित्ने अवस्था नभएपछि नेपाली काँग्रेसका कार्यकर्ताहरु प्रोपोगाण्डामा उत्रिएको आरोप नेकपा (एमाले) ले लगाएको छ । एमालेले शनिबार रङ्गेलीमा पत्रकार सम्मेलन गर्दै आफ्नो पार्टीका उम्मेदवार दिलीप बगडीयाको लोकप्रियताका कारण निर्वाचन जित्ने अवस्था नरहेपछि काँग्रेसका कार्यकर्ताहरु प्रोपोगाण्डामा उत्रिएको आरोप लगाएको हो ।
शुक्रबार राति रङ्गेली–८ स्थित चाइना गेट टोलमा एमालेका उम्मेदारको तर्फबाट मतदातालाई पैसा बाँड्न आएको झुटो आरोप लगाउँदै कांग्रेस कार्यकर्ताले हो हल्ला गरेका थिए ।
नेपाली काँग्रेसका स्थानीय कार्यकर्ता हेम थापाले सूचना विभाग र प्रेस काउन्सिल दर्ता समेत नरहेको ‘रङ्गेली न्युज’ नामक फेकबुक पेजबाट लाइभ गर्दै मतदातालाई पैसा बाँडेको भन्दै भ्रम फैल्याउन खोजेको बताइएको छ ।
थापा सहित काँग्रेस कार्यकर्ताहरुको समुहले एमाले कार्यकर्ताको गाडीमा नाटकीय ढङ्गले आफैले झण्डा राखेर सोही गाडीको भिडयो देखाउँदै पैसा बाँडेको झुटो अफवाह फैल्याएको एमाले रङ्गेली नगर कमिटीका अध्यक्ष दलबहादुर बस्नेतले पत्रकार सम्मेलनमा बताए । ‘ हामी आफ्नै पार्टी कार्यकर्ताको घरभित्र बसेर छलफल गरिरहेको समयमा काँग्रेसका कार्यकर्ताले आफै हाम्रा साथीको मोटरसाइकलमा झण्डा राखेर यो गाडी पैसा बाँड्न आएको हो भन्दै फेसबुक लाइभ गर्दै सुनियोजित रुपमा हो हल्ला गरे’– बस्नेतले भने ।
उनले मेयरका उम्मेद्वार बगडीयाले पाँच वर्षमा गरेको काम जनताले अनुभूति गरिसकेको र एमाले जितको नजिक पुगसकेकाले विपक्षीहरु प्रोपोगाण्डामा उत्रिएको दावी गरे । ‘त्यहाँ प्रहरी प्रशासनको समेत उपस्थिति रहेको र पैसा बाँडेका भए पैसा भेटिनुपर्ने,पैसा फेला पथ्र्यो होला’– उनले भने,– ‘कसैको मोटरसाइकल देखाएर यो गाडी पैसा बाँड्न आएको हो भन्दै लाइभ गर्छ भने पैसा बाँडेको पुष्टि हुन्छ र ? कानुन विपरीत भ्रम फैल्याउनेलाई कडा कारबाही हुनुपर्छ ।’

लाइभ गरेको भिडियोमा कांग्रेसका कार्यकर्ता थापाले बोल्दै मोटरसाइकल देखाएर पैसा बाँड्न आएको भनेर हो हल्ला गरेको देखिन्छ । सोही कारण भीड जम्मा भएको अध्यक्ष बस्नेतको दाबी छ । यसरी कानुन विपरीत उम्मेद्वार विरुद्ध भ्रम फैल्याउने व्यक्ति उपर कानुनी कारबाही गर्न एमालेले माग गरेका छ ।

पत्रकार सम्मेलनमा एमाले जिल्ला कमिटी सहसचिव सन्तोष साहले पैसा बाडेको आरोप लगाउनु पराजित मानसिकताको उपज भएको स्पस्ट पार्दै आफ्नो पार्टी कार्यकर्ताको घरमा जाँदा कांग्रेस कार्यकर्ताले हो हल्ला गरेको बताए ।
फेसबुक पेजबाट सुनियोजितरुपमा लाइभ गरि हो हल्ला गर्दै शुक्रबार एमाले उम्मेद्वार अग्रवालको गाडी समेत तोडफोड गरिएको छ । उक्त स्थानमा हो हल्ला भएको खबर पाएपछि नेता अग्रवाल घटनास्थलमा पुगेका थिए । अग्रवाल अघिनै प्रहरीको टोली घटना स्थलमा पुगिसकेको र प्रहरीकै उपस्थितिमा कांग्रेस कार्यकर्ताले आफ्नो गाडीमा तोडफोड गरेको अग्रवालको आरोप छ ।
यता जिल्ला प्रहरी कार्यालय मोरङ प्रमुख प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले पनि पैसा बाँडेको भन्ने हल्ला मात्रै भएको बताएका छन् । ‘आचारसंहिता विपरीत गएको भनेर भएको विवाद मात्र हो र पैसा बरामद भएको छैन ’– उनले भने,– ‘पैसा बाँडेको भन्ने कतैबाट पनि देखिँदैन ।’
केही व्यक्तिलाई पक्राउ गरिएको भन्ने कुरा निराधार भएको बताउँदै भिडलाई नियन्त्रणमा लिन केही व्यक्तिलाई ‘रेस्क्यू’ मात्र गरिएको उनले बताए ।
यता मेयरका उम्मेदवार बगडीयाले सो विषयमा प्रतिकृया दिँदै एमालेले सवै पदमा जित्ने सुनिश्चितता देखेर आफ्ना प्रतिष्पर्धीले हतास मानसिकताको उपजका रुपमा यस्तो अफवाह फैलाएको बताए । उनले आफुले पैसा बाँडेको भेटिए उम्मेदवारी नै त्यागिदिने घोषणा गरेका छन् । ‘मैले पैसा बाँडेको प्रमाण देखाउनुपर्याे । हल्लाको भरमा मतदातालाई भ्रममा पार्ने काम हतास मानसिकताको उपज हो ’ उनले भने,‘मैले बाँडेको पैसा हो भनेर भेटियो भने तत्काल म उम्मेदवारीनै त्यागिदिन्छु ।’