विराटनगर ४ असोज । ‘श्रम संसार’ मोबाइल एपबारे सुनसरी दुहवीका जनप्रतिनिधि र कर्मचारीलाइ अभिमुखिकरण गरिएको छ । दुहबी नगरपालिकाको आयोजना र रोजगार तथा लघु उद्यम शाखाको समन्वयनमा स्थानीय बेरोजगार युवाहरुलाइ रोजगार सृजना गर्ने उद्देश्यले सञ्चालन गरेको ‘श्रम संसार’ मोबाइल एप बारे घर–घर सम्म जानकारी पुर्याउने उद्देश्यले एक दिने अभिमुखीकरण कार्यक्रम गरिएको हो ।
बर्षेनी श्रम बजारमा आउने ५ लाख बेरोजगार युवाहरुलाइ सरकार र निजि कम्पनिहरुले जम्मा २५ प्रतिशत सम्म मात्रै रोजगार सृजना गर्न सकेको अवस्थामा दुहवी नगरपालिकाले बेरोजगार युवा युवतीहरुलाइ रोजगारसंग जोड्न स्टेप अप परियोजना स्विस कन्ट्याक्टको सहयोगमा गत वर्ष श्रम संसार मोबाइल एप्लिकेशन सञ्चालनमा ल्याएको थियो ।
रोजगार खोजकर्ताहरुले यो एप मार्फत कहाँ र कुन कामबारे जानकारी पाउनुका साथै घरमै बसेर आवेदन समेत दिन सक्ने व्यवस्था मिलाईएको छ । रोजगार प्रदायक सस्था र रोजगारदाताहरुले पनि सहजै आफुलाइ चाहिएको कामदार र उपलब्ध हुने तालिमबारे एपमार्फत जानकारी पाउनेछन ।
अभिमुखीकरण कार्यक्रममा दुहबी नगरप्रमुख बेदनारायण गच्छदारले स्थानीय बेरोजगार युवाहरूलाई रोजगार र उद्यमशिलतासँग जोड्ने काम गरिएको बताउनुभयो । उहाँले विना कागज आवेदन दिन सक्नेगरि श्रम संसारको सुरुवात दुहबी नगरपालिकाले गरेको बताउनुभयो । श्रम संसारलाई प्रभावकारी बनाउन उहाँले सवै वडाका अध्यक्ष तथा सदस्य र वडा सचिवलाई सवैले देख्नेगरि सूचना राख्न पनि निर्देशन दिनुभयो ।
कार्यक्रममा नगर प्रमुख गच्छदार, उपप्रमुख मेनुका खतिवडा, प्रमुख प्रशासकीय अधिकृत हिमालय बराल, वडाध्यक्ष तथा वडासदस्य र विषयगत शाखा प्रमुख लगायत स्टेप अप परियोजना, आसमान नेपालका परियोजना संयोजक ई. गणेश दहालको उपस्थित रहेको थियो ।
कार्यक्रमको सञ्चालन दुहबी नगरपालिकाका बरिष्ठ उद्यम विकास सहजकर्ता दिवेश चौधरी गर्नुभएको थियो भने रोजगार संयोजक पवन प्रधानले प्रस्तुतिकरण गर्नुभएको थियो ।
श्रम संसार एप दुहवी नगरपालिका, विराटनगर महानगरपालिका र इटहरी उपमहानगरपालिकाले सञ्चालित छ । दुहवी नगरपालिकाले श्रम संसार मार्फत ८७१ जनाको रोजगार खोजकर्ता र तालिम मा सहभागि हुनेहरुको प्रबिष्टी गरिसकेको छ । रोजगार प्रदायक १६ वटा कम्पनी पनि दर्ता भइसकेका छन् ।