कोशीमा माओवादीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

विराटनगर १४ भदाै । नेकपा (माओवादी केन्द्र)ले नेकपा (एमाले) नेतृत्वको कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

पार्टीको प्रदेश संसदीय दलको बैठकपछि शुक्रबार माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो । समर्थन कायमै राखेर माओवादी गत साउन ११ गते सरकारबाट बाहिरिएको थियो । सरकारबाट बाहिरिएको १ महिनापछि माओवादीले समर्थन पनि फिर्ता लिएको छ ।

माओवादी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले माओवादी केन्द्रले दल र सांसदको तर्फबाट समर्थन फिर्ता लिएको बताए ।

एमाले प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की माओवादीकै समर्थनमा गत वैशाख २७ गते संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री बनेका थिए । केन्द्रमा सत्ता समीकरण परिवर्तन भएसँगै नेपाली कांग्रेस र एमालेको गठबन्धन बनेर माओवादी प्रतिपक्षमा पुगेको छ ।

प्रदेशसभा सचिव गोपाल पराजुलीका अनुसार माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र संसद सचिवालयलमा दर्ता गरिसकेको छ ।

कांग्रेसले पनि सरकारलाई समर्थन गरेको पत्र दर्ता गरेको जानकारी उनले दिए । तर, आन्तरिक भाण्डबन्डाको किचलोमा फसेको कांग्रेस भने हालसम्म प्रदेश सरकारमा सहभागी भएको छैन ।