लाईफगार्ड अस्पतालको आगो नियन्त्रणमा, करिब डेढ करोडको क्षति

विराटनगर २७ साउन। विराटनगर महानगरपालिका–५ स्थित लाइफगार्ड अस्पतालमा लागेको आगो नियन्त्रणमा आएको छ ।
अस्पतालको आईसीयूमा आइतबार दिउँसो ३ बजेतिर आगलागी सुरु भएको थियो ।

विराटनगर महानगरपालिकाको दमकल र प्रहरीको सहयोगमा करिब १ घण्टापछि आगो नियन्त्रणमा लिइएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । उनका अनुसार आगलागीको कारण खुल्न सकेको छैन ।

विद्युत ‘सर्ट’ भएर आगलागी भएको हुनसक्ने बस्नेत बताउँछन् । यथार्थ पत्ता लगाउन अनुसन्धान सुरु गरिएको उनले बताए । ‘आईसीयू कक्षभित्र विद्युत ‘सर्ट’ भएको अनुमान छ,’ डीएसपी बस्नेतले भने, ‘अनुसन्धानपछि वास्तविकता पत्ता लाग्छ ।’
अस्पतालका अनुसार आगलागीबाट करिब डेढ करोड बराबरको क्षति भएको छ । अस्पतालले १० बेडको आईसीयू सञ्चालन गरिरहेको थियो ।

आगलागी भएका बेला आईसीयूभित्र बिरामी भने थिएनन् । ‘यसअघि भर्ना भएका बिरामी डिस्चार्ज भएर गएका कारण आईसीयू खाली थियो,’ अस्पतालका वरिष्ठ नाक, कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर कैलाश श्रेष्ठले भने, ‘नयाँ बिरामी भर्ना भएका थिएनन् ।’
अस्पतालमा आगलागी सुरु भएपछि अन्य वार्डका बिरामी र कुरुवाहरु भने त्रसित बनेका थिए । बाहिरबाट हेर्दा धुवाँको मुस्लो उडिरहेको देखिन्थ्यो ।

डा. श्रेष्ठका अनुसार आईसीयूको एसीबाट आगलागी सुरु भएको हो । आगोले एसी, भेन्टिलेटर, मनिटर, पोर्टेबल एक्स–रे मेसिन, बेडलगायत आईसीयू कक्षभित्र रहेका सबै सामान जलेको जानकारी उनले दिए । उनका अनुसार ‘सर्ट सर्किट’ हुँदा सीटी स्क्यान मेसिन पनि बिग्रिएको छ ।

‘एसीबाट आगलागी सुरु भयो । १० मिनेटजतिमा सबै जलिसक्यो होला । धन्न आईसीयूमा बिरामी थिएनन् । आईसीयू कक्षभित्र ठूलो क्षति पुगेको छ । भित्र रहेका कुनै सामान बाँकी रहेनन्,’ डा. श्रेष्ठले भने । उनका अनुसार आईसीयू खाली रहेका कारण मानवीय क्षति हुन पाएन ।

आगलागीपछि ओपीडीलगायतका सबै सेवा तत्काललाई बन्द गरिएको डा. श्रेष्ठले बताए । आगलागीका कारण अस्पतालको सेवा प्रवाह अवरुद्ध बनेको हो । आईसीयूबाहेकका सबै सेवा सोमबारदेखि नियमित रूपमा सञ्चालनमा आउने जानकारी उनले दिए ।