विराटनगर महानगरपालिकासँग बीमाबारे अन्तरक्रिया

विराटनगर २२ साउन । नेपाल बीमा प्राधिकरणले बीमाबारे विराटनगर महानगरपालिकासँग अन्तरक्रिया गरेको छ । सोमबार नेपाल बीमा प्राधिकरणको अध्यक्ष सूर्यप्रसाद सिलवालको उपस्थितिमा स्थानीय सरकारसँग बीमा अन्तर्गत अन्तरक्रिया तथा छलफल कार्यक्रम गरिएको हो ।

कार्यक्रममा महानगर प्रमुख नागेश कोइरालाले नेपालमा पनि विदेशको जस्तै दावी भुक्तानी सहज गर्नुपर्ने बताउनुभयो । उहाँले विदेशमा मोटर बीमामा दाबी भुक्तानी प्रदान गर्ने समयसम्म कम्पनीले नै सवारी सुविधा समेत उपलब्ध गराउने गरेको बताउनुभयो । उहाँले प्रमुख प्रशासकिय अधिकृतसँग समन्वय गरेर बीमालाई प्राथमिकतामा राख्ने बताउनु भयो ।

विराटनगर १ का वडाध्यक्ष काजीबहादुर बस्नेतले आफूहरुलाई अनावश्यक दावी भुक्तानी सिफारिस गर्न लगाउने व्यवस्थालाई परिमार्जन गर्नुपर्ने बताउनु भयो । दाबी भुक्तानीमा कम भन्दा कम कागज मागेर भुक्तानी गर्ने व्यवस्था मिलाउनु पर्ने बताउनुभयो

कार्यक्रममा सहभागीहरुले बीमा समपर्ण गर्ने समय, कोरोना बीमा, स्वास्थ्य बीमा दाबी भुक्तानी लगायतका विषयमा उठाएका प्रश्नलाई बीमा प्राधिकरणका अध्यक्ष सिलवालले जवाफ दिंदै आफूहरु स्थानीय सरकारसँग निरन्तर समन्वय गर्न तयार रहेको, स्थानीय सरकारलाई आश्यक पर्ने नीति तथा प्रोडक्ट आवश्यक परेमा सहयोग गर्न तयार रहेको साथै पालिकाहरुले समेत आफ्नै भवनबाट बीमा गर्न थालनी गर्नुपर्याे, पैसा हुनेलाईबीमा गर्न प्रेरित गर्नुपर्याे नहुनेको पालिकाले नै बीमा गरिदिनु पर्याे, विदेशमा जस्तै यहाँपनि जोखिमको भार बीमा कम्पनीमा प्रदान गर्नुपर्याे भन्ने विषयमा प्रष्ट पार्नु भएको थियो ।

कार्यक्रममा प्राधिकरणका निर्देशक सुशील देव सुवेदीले बीमा बजार तथा कानूनी व्यवस्थाबारे जानकारी दिनु भएको थियो । कार्यक्रम सञ्चालन तथा सहजिकरण प्राधिकरणका कोशी प्रदेश कार्यालयका प्रमुख बिनोद कुमार पोखरेलले गर्नु भएको थियो ।