भदौ २२ देखि विराटनगर विद्यालय नाटक महोत्सव

विराटनगर २० साउन । विराटनगर विद्यालय नाटक महोत्सवको चौथो संस्करण घोषणा भएको छ ।

आरोहण गुरुकुल विराटनगरले आगामी भदौ २२ गतेदेखि १० दिनसम्म महोत्सव गर्ने घोषणा गर्दै विद्यालयको सहभागिताका लागि आह्वान गरेको छ।विराटनगर र आसपासका विद्यालयले साउन ३२ गतेभित्रमा आवेदन दिन सक्नेछन । आवेदन दिनका लागि आयोजक गुरुकुलसँग सम्पर्क गर्न वा गुरुकुलको सामाजिक सञ्जालमा उपलब्ध लिंक प्रयोग गर्न सकिनेछ। आवेदन दिएकामध्ये नौवटा विद्यालय छनोट हुनेछन ।

विद्यालयलाई गुरुकुलले नै निःशुल्क प्रशिक्षण र प्राविधिक सहयोग दिएर हाटखोलास्थित गुरुकुलका नाटकघरमा हुने महोत्सवमा नाटक मञ्चनको अवसर दिनेछ। पाठ्यक्रममा भएको वा शिक्षक तथा विद्यार्थीले लेखेको एक घण्टा अवधि हाराहारीको नाटक विद्यार्थीले नै अभिनय गरी मञ्चन गर्नुपर्ने हुन्छ।

नौ विद्यालय र आयोजकको एउटासमेत गरी १० नाटक मञ्चन हुने यो महोत्सव विद्यार्थीलाई रंगमञ्चसँग जोड्ने उत्सव भएको आयोजक आरोहण विराटनगरका अध्यक्ष भैरव क्षेत्रीले बताए।विद्यालयले आवेदन दिएपछि त्यसपछिको सम्पूर्ण प्रक्रियामा गुरुकुलले सहयोग गर्ने उनले बताए ।

विगतका तीन संस्करण सफलतापूर्वक सम्पन्न भइसकेको नाटक महोत्सवमा अवार्डको पनि व्यवस्था गरिएको अध्यक्ष क्षेत्रीले बताए। नौ विद्यालयमध्येबाट उत्कृष्ट नाटक, नाटककार, निर्देशक, अभिनेता र अभिनेत्रीलाई अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ।